ओलीलाई हटाउने नेकपाले नै हो, कांग्रेस र जसपाले हटाउन सक्ने अवस्था छैन : नेता महतो

कैलाली । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरुले हटाउन नसक्ने बताएका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको चाहाने मात्रै ओलीलाई पदबाट हटाउन सक्ने अवस्था नभएको भन्दै महतोले नेकपाले निर्णय नगरेसम्म कम्युनिष्ट सरकारको विकल्प तयार नहुने बताएका हुन् ।

मंगलवार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले भने, “काँग्रेस र जसपा मिलेर पनि हाम्रो बहुमत पुग्दैन। ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै हो । अहिले पनि ओलीजी पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ। खोइ त हटाएको ? हटाउन सक्नुपर्यो नि ! दुनियाँलाई झुक्याउने काम भइरहेको छ ।”

नेता महतोले थारुहट आन्दोलनका क्रममा षड्यन्त्रपूर्वक घटाइएको घटनामा सांसद रेशम चौधरी र लक्ष्मण चौधरीलाई लगाइएको झुटा मुद्दा फिर्ता नभएसम्म जसपा सरकारमा नजाने दोहोर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?