वनसँग सम्बन्धित नीति उपभोक्ताको साथ लिएर बनाउँछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने बताएका छन् ।

आज मंगलवार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा जनता तथा उपभोक्ताको साथ लिएर बनाउने बताएका हुन् ।

वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति पनि जनताको साथ लिने उनको भनाई छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औल्याए ।

उनले भने – ‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहीँ ठानेको थिइन । यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होईन, वैज्ञानिक नीति हुनुपर्‍यो । दिगो वन विकास नीति हुनुपर्‍यो । प्रतिफल दिने विकास नीति हुनुपर्‍यो । र यो कुरा के भने हामि नीतिहरु बनाउँदा तपाईहरुको साथ लिएर बनाउँछौ । जनताको साथ लिएर बनाउछौ । उपभोक्ताको साथ लिएर बनाउँछौ । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जिवजन्तुको संरक्षण, सुरक्षा आदि इत्यादी सबैकुरा जनताको साथ लिएर बनाउँछौँ ।’

प्रधामन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरुले वनको संरक्षण गर्न भुमिका खेलेको बताए । उपभोक्ता समितिहरुले नष्ट भइसकेका वनहरुलाई पुर्नजिवन दिएको उनको भनाई छ । फलस्वरुप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि उनले बताए ।

उनले भने – ‘सायद उपभोक्ता समितिहरु नबनेका भए, सामुदायिक वनहरुको रुपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो । नष्ट भइसकेका वनहरुलाई वन उपभोक्ता समितिहरुले तिनलाई पुर्नउत्थान गरेका छन् । तिनलाई पुर्नजिवन दिएका छन् । र हाम्रो वातावरणीय सन्तुलन, हाम्रो वृष्टि, अनावृष्टि जस्ता कुराहरुलाई सन्तुलन र हाम्रो देशलाई बढ्दो तापक्रम नियन्त्रण गर्ने कुरामा यी सबै कुरामा धेरै ठुलो योगदान पुगेको छ ।’

प्रधानमन्त्री ओलीले सबै प्रकारका वनहरुको सुरक्षा, समुचित प्रवन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताए । वनको अधिकतम सुरक्षा र विकास गरी जनता र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?