कैलाली युवक मृत्यु प्रकरण : परिवारले बुझेनन् शव

टेकसिँह धामी/ कैलाली- कैलालीको गेटा मेडिकल नजिकै हिजो (शनिवार) बिहान मृत भेटिएका गोदावरी नगरपालिका–५ का शिवचरण रानाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन्।

रानाको हत्या भएको परिवारको दावी छ । परिवारले हत्यामा संलग्नहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने माग राखेको छ ।

सेती प्रादेशिक अस्पतालमा शव परीक्षण गरिएको भएपनि अहिलेसम्म परिवारले नबुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।

प्रहरीले घटनाको अनुसन्धानका लागि विभिन्न व्यक्तिमाथि सोधपुछ गरिरहेको जनाएको छ । शनिपार ईलाका प्रहरी कार्यालय मालाखेतिले अनुसन्धानका लागि १२ जनालाई नियन्त्रणमा लिएको थियो । अहिले उनीहरुमाथि सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाई छ ।

गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना शनिवार बिहान गेटा मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?