वादी समुदायको मागप्रति मानवअधिकारवादी संस्थाले जनाए ऐक्यबद्धता

सुर्खेत । वादी समुदायको मागप्रति मानवअधिकारवादी संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् । मानवअधिकार संस्था इन्सेक, मानवअधिकार रक्षक सञ्जाल, खाद्य अधिकार सञ्जाल, स्याक नेपाल लगायतका संघसंस्थाहरूले धर्नामा बसिरहेका वादी समुदायको मागप्रति साझा रुपमा ध्यानाकर्षण पत्र सार्वजनिक गरेका हुन् ।

सुर्खेतका वादी समुदाय पछिल्लो १० दिनदेखि व्यवस्थित बसोबासको माग गर्दै कर्णाली मुख्यमन्त्री कार्यालय गेटमा धर्नामा बसिरहेका छन् । ‘पुस्तौँदेखि पिछडिएका, राज्यले दिने सेवा सुविधामा पहुँच नभएका र जीविकोपार्जनका लागि सीप र कलाको माध्यमबाट गुजार गर्ने यो समुदायले उठाएका माग सरकारले तत्काल सम्बोधन गरी समस्या समाधानका लागि हामी अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरु जोडदार माग गर्दछौँ,’ ध्यानाकर्षण पत्रका भनिएको छ ।

वर्षौँदेखि वादी समुदाय राज्यले ग्यारेन्टी गरेका आधारभूत अधिकारको उपभोग गर्नबाट समेत बञ्चित भएको भन्दै उनीहरुले खेद प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?