फरार दुई व्यक्ति कारागार चलान

RSS
0
Shares

काठमाडौँ– विभिन्न घटनामा संलग्न भएको आरोपमा कसुरदार ठहर भई फरार रहेका दुई व्यक्ति कारागार चलान भएका छन् ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरी अदालतमा पेश गरिएकामा अदालतको आदेशले उनीहरू कारागार चलान भएका हुन् । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विसं २०७६ साउन १४ को फैसलाले पाँच दिन कैद र रू सात लाख जरिवाना हुने ठहर भएकामा उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादी बूढानीलकण्ठ बस्ने सुशीला श्रेष्ठलाई आज कारागार चलान गरिएको सिआइबीले जनाएको छ ।

गएराति काठमाडौँको शान्तिनगरबाट पक्राउ गरी अदालतमा पेश गरिएकामा अदालतको आदेशपछि आजै कारागार कार्यालय जगन्नाथदेवल पठाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिईन् ।

यस्तै वैदेशिक रोजगार कसूर मुद्दामा सर्वोच्च अदालतको यही मङ्सिर ११ गतेको फैसलाले एक वर्ष छ महिना कैद र रू एक लाख ५० हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएकी पाल्पा खानीगाउँकी टीकाकुमारी थापालाई पनि पक्राउपछि कारागार चलान गरिएको छ ।

सजाय बेरुजु रही फरार रहेकी थापालाई भक्तपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिकामा अदालतको आदेशले कारागार चलान गरिएको ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?