काठमाडौं । म्यानमारको सेनाले गए राति आङसाङ सूकीको पार्टी कार्यालयमा छापा मारेको छ । सू कीको याङ्गोस्थित पार्टी कार्यालयमा सेनाले छापा मारेको हो ।
सैन्य कू लागू भएपछि म्यानमारको राजनीतिक अवस्था अस्तव्यस्त छ । हजारौं जनता सडकमा उत्रिएका छन् ।
सैन्य कू विरुद्ध जनता सडकमा उत्रिएपछि सेनाले पाँचजना भन्दा बढी भेला नहुन आदेश दिएको छ । तर निषेधाज्ञाको पालना नगरी जनता प्रजातन्त्रवादी नेतृ आङ सान सू कीको रिहाइ साथै देशमा प्रजातन्त्रको पुनस्र्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
भीड नियन्त्रणमा लिन आन्दोलनरत प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्नुका साथै पानीको फोहोरा समेत प्रहार गरेको छ । प्रहरीको गोली प्रहारबाट दुईजना घाइते भएका छन् । दुईजनामध्ये एक महिला भने गम्भीर अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सामाजिक सञ्जालमा प्रतिबन्ध
म्यानमारमा राजनीतिक अस्थीरता बढ्न थालेपछि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् अशान्ति फैलाइएको भन्दै सेनाले देशमा स्थायित्व कायम राख्न प्रतिबन्ध लगाएको जनाएको छ ।
‘कू’ लागू गरेसँगै इन्टरनेट सेवा, बैंकिङ तथा टेलिफोन सेवा आंशिक रुपमा बन्द गरेको सेनाले हालै फेसबुक प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ ।
म्यानमारमा पाँच करोड ३० लाख जनसंख्यामध्ये झण्डै आधा जनता फेसबुकमा सक्रिय रहेको र सेनाको कदमविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भएकाले सेनाले फेसबुक प्रयोगमै रोक लगाएको हो ।
सेनाले म्यानमारमा एक वर्षसम्म सैनिक शासन लागू हुने घोषणा गरेको छ । त्यसपछि निर्वाचित सरकारलाई शासन हस्तान्तरण गर्ने सेनाको भनाइ छ ।
भएको के थियो ?
म्यानमारको सेनाले यही माघ १९ गते सोमवारका दिन देशमा सैन्य कू लागू ग¥यो । आङ सान सू की लगायत देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैनिकले सत्ता आफ्नो हातमा लिएपछि म्यानमारको माहोल अस्तव्यस्त बनेको छ ।
सोमवार एकाबिहानै आङ सान सू की लगायत शीर्ष नेताहरुलाई नियन्त्रणमा लिँदै सत्ता आफ्नो हातमा लिएर म्यानमार सेनाले देशमा आपतकालीन व्यवस्था घोषणा गरेको हो । यस घोषणासँगै म्यानमारको अवस्था चिन्ताजनक बनेको छ ।
सो राष्ट्रको सबैभन्दा ठूलो शहर यांगुनमा सञ्चारमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने, बैंक तथा वित्तीय संस्था बन्द छन्, सडकमा बारबार हतियारसहित सैनिक गस्ती भइरहेको छ । बिहानैदेखि त्यहाँका जनताले टिभीमा सैनिक–स्वामित्वको च्यानलवाहेक अन्य च्यानल हेर्न पाएका छैनन् ।
सोही च्यानलमा बताइए अनुसार सत्ता अहिले म्यानमार सेनाका प्रमुख मिन आङ लिङलाई हस्तान्तरण गरिएको छ ।
हालै चुनाव मार्फत् निर्वाचित नेताहरुलाई संसदको पहिलो बैठक शुरु हुनुभन्दा केही घण्टाअघि हिरासतमा लिएर सैनिकले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताइरहेका छन् ।
यही वर्षको नोभेम्बरमा भएको चुनावमा धाँधली गरेर जितेको आरोप लगाउँदै म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकी र नेस्नल लिग फर डेमोक्रेसीका अन्य नेताहरुलाई नियन्त्रणमा लिएको कुरा सेनाले स्वीकारिसकेको छ । चुनावमा धाँधली भएको भन्ने विवादले केही समयदेखि राजनीतिक तनावबाट गुज्रिरहेको म्यानमारमा सेनाले देशको सत्ता आफ्नो हातमा लिन सक्ने अनुमान पनि केही दिनदेखि हुँदै आएको थियो ।
५० वर्षको सैन्य शासनबाट सन् २०११ मा मुक्त भएपछि म्यानमारमा यो दोस्रो लोकतान्त्रिक चुनाव थियो जसमा सू कीको पार्टी, नेशनल लिग फर डेमोक्रेसीले कूल भोटको ८३ प्रतिशत आफ्नो पोल्टामा पारेर भारी मतान्तरले विजयी भएको थियो । यस जितले सू कीको पार्टीलाई सरकारमा थप ५ वर्षको स्थायित्व प्रदान गरेको थियो ।
यता सैन्य–पक्षधर यूनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टीले भने कूल ४ सय ७६ सिटमा जम्मा ३३ सिट मात्र जितेको थियो ।
किन गरियो ‘कू’ ?
भर्खरै स्थापित कार्यवाहक राष्ट्रपति तथा पूर्व सैन्य जनरल मीन्ट स्वीद्वारा हस्ताक्षर गरिएको घोषणामा सन् २०२० नोभेम्बर ८ मा भएको चुनाव निष्पक्ष नभएको भन्दै ‘माथिल्लो र तल्लो सदनको बैठकलाई केही समय थाँती राख्ने आफ्नो अनुरोध नमान्नु’ लाई सू की लगायत शीर्ष नेताहरुलाई नियन्त्रणमा लिनुको मूख्य कारण बताइएको छ ।
चुनावमा नेस्नल लिग फर डेमोक्रेसीसँग भारी मतान्तरले हारेपछि सेनाले नवनिर्वाचित संसदलाई केही समय ‘होल्ड’ हुन अनुरोध गरेको थियो । संसदको पहिलो बैठकलाई रोक्ने सेनाको प्रयासका बावजुत बैठक स्थगित नहुने भएपछि सेनाले यो कदम चालेको हो ।
गएको बिहीवार म्यानमारको निर्वाचन आयोगले ‘भोटर फ्रड’ भएको कुरालाई ठाडै अस्वीकार गर्दै मतदाता नामावलीमा नक्कली नाम हुनुले मतदानको नतिजामा कुनै प्रभाव नपार्ने बताएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया