गस्तीको आँखा छलेर सिमकोटमा चोरीका घटना बढे

RSS
0
Shares

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रतिदिन चोरीका घटना बढ्न थालेका छन् । सदरमुकाम सिमकोटमा बजार गस्तीको आँखा छलेर दैनिक चोरी भएको गुनासो आउन थालेको छ । सिमकोट माथिल्लो बजार आसपास क्षेत्रमा दैनिक चोरी हुने गरेको यहाँका नागरिकले गुनासो गरेका छन् ।

बिहान र दिउँसोको समयमा समेत चोरी हुने गरेको छ । यस्तै होटल विजयबाट सोमबार बिहान जुम्ला घर भएका राष्ट्रिय समाचार समिति सिञ्जाका संवाददाता उपेन्द्र न्यौपानको ४१ हजार मूल्य बराबरको मोबाइल फोन चोरी भएको छ । होटलमा चार्जमा राखेको समयमा आफ्नो मोबाइल चोरी भएको उनले बताए । उनको बिहान चार्जमा राखिएको समयमा रेडमी टेन प्रो मोबाइल चोरी भएको हो । आफू प्रेस सङ्गठनको बैठकमा जानका लागि सिमकोट आएको र उक्त होटलमा चार्जमा राखेको समयमा चोरी भएको उनले बताए।

यस्तै सिमकोट माथिल्लो बजारमा रहेको बैंक नजिकको एक घरबाट १८ हजार नगद चोरी भएको स्थानीयवासी कालीबहादुर बोहराले बताए । घरमा कोही नभएको मौका छोपेर रातिको समयमा चोरले घरको तालासमेत फोडेर १८ हजार नगदसहित अन्य सामान चोरी गरेको बोहराले बताए ।

यस क्षेत्रमा दैनिक लत्ताकपडा, जुत्तालगायतका सामग्री चोरी हुने गरेको स्थानीयवासी देउमा भण्डारीले बताए । सुरक्षा गस्तीले रातिको समयमा बजार गस्ती गरेको भने पनि दिउँसोको समयमा अत्यधिक चोरी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?