पक्राउ पुर्जी जारी भएपछि वडाअध्यक्ष फरार

धरान । जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेपछि धरान उपमहानगरपालिका वडा नम्बर-९ का वडाअध्यक्ष रत्न कट्वाल फरार भएका छन्। झुटो विवरण पेस गरी स्याङजाकी एक महिलालाई नागरिकता लिन सिफारिस गरेको पाइएपछि कट्वालविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

स्याङ्जा वालिङ वडा नम्बर ३ घर भएकी मञ्जु क्षेत्रीले २०७५ माघ ८ गते इलाका प्रशासन कार्यालय धरानबाट नागरिकता लिएकी थिइन्। यस अगाडि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट समेत नागरिकता लिई सकेकी उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी दोहोरो नागरिकता लिएको अभियोगमा मुद्दा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाएको डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए। मञ्जुलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुवा बनेर नागरिकता दिलाएका थिए।

मञ्जुले बास्तविक उमेर भन्दा कम देखाएर २०५५ सालमा जन्म दर्ता गरी २० वर्षको उमेर देखाई धरानबाट नागरिकता लिएकी छन्। नागरिकता दिलाउन वडाअध्यक्ष कट्वालसँगको मिलेमतोमा ठूलो आर्थिक चलखेल भएको बुझिएको छ।

मञ्जुलाई छोरी बनाएर नागरिकता दिलाउन सहयोग गर्ने सेजुवाल हाल जापानमा रहेको पनि डीएसपी बस्नेतले बताएका छन्। मञ्जुलाई दुईवटा नागरिकतासहित स्याङ्जा प्रहरीले पक्रमाउ गरी आवश्यक कारबाहीका लागि धरान प्रहरीलाई बुझाएको छ। डीएसपी बस्नेतले मञ्जुले झुटो विवरण पेस गरी दोहोरो नागरिकता लिएको प्रमाणित भइसकेकाले संलग्नको पहिचान गरी आवश्यक अनुसन्धान भइरहेको बताए। अन्नपूर्ण पोष्टमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?