बोटलर्स नेपालले पुँजीगत लाभकर छली गरेको आशंकामा छानबिन शुरु

काठमाडौं । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा हालै कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। यो अमेरिकी कम्पनी हो।

बोटलर्स नेपालमा तीन पक्षीय लगानी छ। कुल सेयरमा ७६.१७ प्रतिशत सेयर दुवईमा दर्ता भएको सप्को एसिया कम्पनीको छ। कम्पनीमा २२ प्रतिशत सेयर गोर्खा बु्रअरीको छ भने १.८४ प्रतिशत सेयर सर्वसाधारणको छ। यसमध्ये ७६.१७ प्रतिशत विदेशी लगानीको सेयर किनबेच हुँदा लाभकर छली भएको आशंका विभागको छ। विभागका अनुसार अहिले सप्को एसियाले आफ्नो सेयर कोकाकोला साउथ वेस्टलाई बिक्री गरेको छ। सप्कोको स्वामित्व हस्तान्तरण हुँदा पुँजीगत लाभकर छली भएको सूचना पाएपछि विभागले अनुसन्धान थालेको हो। नेपालमा दर्ता भएको कुनै पनि स्वदेशी वा विदेशी कम्पनीको सेयर बिक्री हुँदा लाभ प्राप्त भए त्यसमा लाभकर तिर्नुपर्ने कानुनी व्यवस्था छ। केही वर्षअघि एनसेलको सेयर विदेशमा बिक्री हुँदा पनि लाभकर लाग्ने/नलाग्ने विषयमा विवाद भएपछि अन्त्यमा लाभकर तिर्नुपर्ने गरी मिलेको थियो।

विभागका महानिर्देशक दीर्घराज मैनालीले बोटलर्स नेपालको सेयर बिक्रीमा पुँजीगत लाभकर छली भएको आशंकामा अनुसन्धान अघि बढाएको जानकारी दिए। ‘बोटलर्स नेपालमा सप्को एसियाको सेयर बिक्री विषयमा छानबिन अघि बढाएका छौं,’ मैनालीले भने, ‘लाभकर छली भए/नभएको र छली भएको भए रकमसहित विस्तृत विवरण छानबिनपछि मात्र पत्ता लाग्नेछ।’ अनुसन्धानको विषय भएकाले अहिले नै धेरै बताउन नमिल्ने मैनालीले बताए। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?