पर्वत । पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग स्थापना गरिने भएको छ । ग्रामीण क्षेत्रमा आवश्यक घरलु उपयोगका औजार निर्माण गर्ने र विपन्न नागरिकको आयआर्जनमा सघाउ पुर्याउने उद्देश्यले फलेवासका ११ वटै वडामा औजार उद्योग स्थापना गर्न थालिएको हो । गत आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर उद्योग स्थापना गर्ने अभियान थालिएको छ । यस वर्ष तीन वटा वडामा उद्योग स्थापना हुने छन् भने बाँकी चालु आर्थिक वर्षको अन्त्यतिरदेखि निरन्तर स्थापना गरिँदै लैजाने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । उनका अनुसार यस वर्ष वडा नं ८ ठानामौला, वडा नं १ कार्किनेटा र वडा नं ४ चुरीमा उद्योग स्थापना शुरु गरिएको छ । प्रत्येक उद्योगका लागि आवश्यक सामग्री नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख शर्माले जानकारी दिए ।
घरेलु औजार उद्योगमा ग्रामीण क्षेत्रमा आवश्यक पर्ने हसिया, बाउसा, कोदाली, बन्चरो, आरा, करौती, खुकरी, फलामका विभिन्न भाँडाकुडा, हलो, तथा तामाका भाँडाकुडा निर्माण हुने छन् । जसले आयातीत वस्तुलाई विस्थापन गरी विपन्न नागरिकको आयआर्जनमा सुधार हुने विश्वास लिइएको नगरप्रमुख शर्माले जानकारी दिए ।
फलेवास नगरपालिकामा १०९ आरन व्यवसाय रहेका छन् । तीनहरुलाई गत वर्षदेखिनै आरन सुधार अभियानअन्तर्गत आधुनिक सामग्री नगरपालिकाले वितरण गरिसकेको छ । नगरपालिकाले रु ३६ लाख विनियोजन गरेर परम्परागत घरेलु औजार उद्योगलाई प्रवर्द्धनको काम अघि बढाएको नगरप्रमुख शर्माले बताए । विपन्न नागरिकले निर्वाहमुखीरुपमा सञ्चालन गर्दै आएको आरन पेशालाई आधुनिकीकरण गर्दै नगरपालिकाभित्र चाहिने फलाम र तामाका सामान उत्पादन गर्ने अभियान प्रभावकारी हुने नगर उपप्रमुख मन्जु अधिकारीले जानकारी दिए । उनका अनुसार वडा नं ८ ठानामौलाको नमूना एकीकृत बस्तिवाट उद्योग स्थापनाको अभियान थालिएको हो ।
अभियान थालनी गर्दै नगरप्रमुख शर्माले हरेक ठाउँको विकासको लागि सोही ठाउँका निश्चित वर्गले नेतृत्व लिनुपर्नेमा जोड दिँदै असङ्ठित वर्गका श्रमिकको जीवनस्तर उकास्नको लागि नगरपालिकाले नयाँ र नमूना कार्यक्रम अघि सारेको जानकारी दिए । दलित समुदाय रहेका बस्तीलाई लक्षित गरी यो कार्यक्रम अघि सारिएको हो । यो कार्यक्रमका लागि आगामी वर्षदेखि निरन्तर वजेट विनियोजन गरेर उद्योग थप गर्दै लैजाने फलेवासका प्रमुख प्रशासकीय अधिकृत मुक्तिाम रिजालले बतााए।
पर्वतको कुश्मामा साहसिक खेल जिपलाइन निर्माण शुरु
अग्ला र लामा पुल तथा साहसिक खेलको विकास भइरहेको पर्वतमा जिपलाइन बन्ने भएको छ । बन्जीजम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो । हार्नेस जिपलाइन प्रालि पर्वतले ११ करोडको लागतमा जिपलाइन निर्माण शुरु गरेको हो ।
जिपलाइनको शुक्रवार पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले शिलान्यास गरेका छन् । धौलागिरिको प्रवेशद्वारको रुपमा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जिपलाइनसहित कालीगण्डकी नदिरको किनारमा सुविधासम्पन्न रिसोर्ट निर्माण गर्न थालिएको सञ्चालक सागर जोशीले जानकारी दिए ।
यो जिपलाइन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इञ्जिनीयर नवीन मेस्सीले बताए । “क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यानजस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।” उनले भने, “यहाँबाट नजिकको जिपलाइन पोखरामा रहेको छ । त्यहाँको जिपलाइन क्लासिक हो जसको लम्बाई एक हजार ८०० मिटर छ ।” सुपर म्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जिपलाइन दुबईमा रहेको छ । जसको निर्माण अमेरिकी कम्पनीले गरेको थियो ।
इञ्जिनीयर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जनासँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा शुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने उहाँको भनाइ छ । कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा शुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ ।
जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ । खेलका क्रममा खेलाडी जोखिममा परेर उद्धार गर्नुपर्ने भएमा एक मिनेटभित्रमा उद्धार गरिने इञ्जिनीयर मेस्सीले बताए । जिपलाइनका एक जना लगानीकर्ता समेत रहनुभएका कुस्मा नगरपालिकाका प्रमुख जोशीले कुस्मामा बन्ने जिपलाइनले कालीगण्डकी नदीलाई दुई ठाउँमा नाघेर जाने भएकाले अन्यत्र ठाउँमा रहेका जिपलाइनभन्दा यहाँ आकर्षण बढी हुने बताए।
“पर्वत जिल्ला अब साहसिक खेलको जिल्लाका रूपमा चिनिन थालेको छ । बञ्जीजम्प, स्काइसाइक्लिङ, रक क्लाइम्बिङ रहेको यो ठाउँमा अब विश्वकै दोस्रो लामो सुपर म्यान जिपलाइन बन्ने भयो”, उनले भने, “यसले पर्वत जिल्लासहित बागलुङ र म्याग्दी जिल्लामा पनि पर्यटक तान्न सहयोग गर्छ । मुस्ताङको साहसिक यात्रा गरेर आउनेलाई जिपलाइनले कुस्मामा आकर्षण गर्छ ।” जिपलाइन, रिसोर्ट र अन्य साहसिक खेल निर्माणको लागि प्रारम्भिकरूपमा रु ११ करोड खर्च लाग्ने अनुमान गरिएको छ । जसमा नगरप्रमुख जोशीसहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गर्ने भएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया