सत्तारूढ नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका आरोप–प्रत्यारोपयुक्त प्रस्तावले जटिल बनाएको अन्तरविरोध हल गर्न भन्दै स्थायी कमिटी बैठक केही दिन रोकिएका बेला दुवै पक्ष सहमति खोज्नुको साटो शक्ति सञ्चयतर्फ लागेका छन् ।
ओली र दाहाल–माधव नेपालनिकट समूहले अनौपचारिक भेलालाई निरन्तरता दिइरहेका छन् । सहमतिका लागि सुझाव दिने हैसियतका स्थायी कमिटी तहकै नेताहरूले यस्ता भेलामा उपस्थित भएर सम्बोधन गरिरहेका छन् ।
दाहाल–नेपाल समूहले बिहीबार काठमाडौंमा वाग्मती प्रदेशका जिल्ला पदाधिकारीको भेला गरेको छ । यो समूहले केही दिन अगाडि राजधानीको थापाथली क्याम्पसमा विद्यार्थी भेला गरेको थियो । ओली समूहको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएको थियो । यो समूहले मदन भण्डारी फाउन्डेसनमार्फत जिल्ला–जिल्लामा कार्यक्रम पनि गर्दै आएको छ । पार्टीभित्र देखिएको संकट समाधानका लागि दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफल गर्ने गरी स्थायी कमिटी बैठक एक साता स्थगन गरिए पनि दुवै समूहले गुटगत छलफल बढाएर एकअर्कालाई दबाब दिने रणनीतिमा लागेका हुन् । स्थायी कमिटी बैठक मंसिर २८ मा बस्दै छ ।
कोटेश्वरको पेरिसडाँडामा बिहीबार भएको भेलाको संयोजन वाग्मती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले गरेका थिए । भेलामा दाहाल–नेपालनिकट जिल्ला इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी करिब ४० जना सहभागी थिए । भेलालाई अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले सम्बोधन गरेका थिए ।कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया