काठमाडौं । वित्तीय प्रणालीमा बुधबारसम्म १ खर्ब १४ अर्ब रुपैयाँ अधिक तरलता छ । यो बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । यो रकम बैंक तथा वित्तीय संस्थाले सबै लगानी गर्न पाउँछन् ।
पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढेको छ । यसअनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह बढेको छ । तर वित्तीय प्रणालीमा रहेको अधिक तरलतामा खासै कमी आएको छैन । करिब दुई साताअघिसम्म पौने २ खर्ब हाराहारीमा रहेको अधिक तरलता बुधबारसम्म सवा खर्ब रुपैयाँमा झरेको बिहीवारको कान्तिपुर दैनिकमा खबर छ । तर बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह बढेर अधिक तरलता घटेको होइन । सानो परिमाणमा कर्जा प्रवाह बढेको भए पनि राष्ट्र बैंकले बजारबाट पैसा उठाएकाले अधिक तरलतामा कमी आएको हो ।
हाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत दुई पटक गरी ७१ अर्ब ८० करोड रुपैयाँ बजारबाट तानेको छ । एक पटक २१ अर्ब ८० करोड र अर्को पटक ५० अर्ब रुपैयाँ गरी २८ दिनका लागि उक्त रकम तानिएको हो । २८ दिनपछि सो रकम पुनः प्रणालीमा फर्किनेछ । यो उपकरण परिपक्वको अवधि सकिन अब करिब २ साता बाँकी छ । केही सातायता बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा प्रवाह बढाउन सकेका छैनन् । यस्तो अवस्थामा राष्ट्र बैंकले झिकेको पैसा फेरि बजारमा फर्किंदा वित्तीय प्रणालीमा पुनः अधिक तरलताको अवस्था कायम रहने जानकारहरू बताउँछन् ।
अधिक तरलता व्यवस्थापनका लागि अनेक प्रयास गरिएको राष्ट्र बैंकले दाबी गरेको छ । यसअनुसार गत असोजसम्म ९० अर्ब रुपैयाँ बजारबाट उठाएको थियो । तर यो पैसा बजारमा आइसकेको छ । त्यसपछि फेरि करिब ७२ अर्ब रुपैयाँ बजारबाट झिकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया