पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्त्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो ।
लिच्छविकालीन सभ्यताको उत्कर्षमा छैटौं शताब्दीमा सिर्जना भएको चित्ताकर्षकमध्येको चतुर्मुखी शिवलिंग मूर्ति कसरी चोरियो भन्ने विस्तृत विवरण आएको छैन । सन् १९९७ सम्म लन्डनको क्रिस्टिज कलेक्सनमा रहेको उक्त मूर्ति खरिद गरेर अमेरिका लगिएको जनाइएको छ । अमेरिकाका खर्बपति जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फको संग्रह (जेम्स डब्लू एन्ड मार्लिन एल्सडर्फ कलेक्सन) ले उक्त मूर्ति अमेरिकाको सिकागो म्युजियम पुर्याएको थियो ।
‘चतुर्मुखी शिवलिंगको मूर्ति फेला परेको विषयमा संकलनकर्ताको इच्छापत्रअनुसार मूर्ति नेपाललाई फर्काउने भनिएपछि मात्र जानकारी बाहिर आएको हो,’ वासिङ्टनस्थित नेपाली राजदूत अर्जुन कार्कीले भने, ‘पुरातत्त्व विभाग र परराष्ट्र मन्त्रालयलाई यसबारे जानकारी गराइसकेका छौं ।’ उनले यो मूर्तिको नेपालको अवस्थिति (ठाउँ) बारे जानकारी पाउन नसकेको बताए । तर लिच्छविकालीन मूर्ति र सम्पदाका जानकारले यो मूर्ति पशुपति परिसरबाट हराएको पुष्टि गरेका छन् ।
अन्वेषक लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित ‘स्टोलन इमेजेज अफ नेपाल’ मा समेत उल्लेख भएको यो मूर्ति पशुपति पञ्चदेवलको बाहिरपट्टि रहेको र सन् १९८४ जुलाईमा हराएको उल्लेख छ । पशुपति क्षेत्रकै सांस्कृतिक सम्पदामा विद्यावारिधि गरेका अन्वेषक गोविन्द टण्डनका अनुसार २०४४ सालमा पशुपति क्षेत्र विकास कोष गठन हुनुअघि यस क्षेत्रका धेरै पुरातात्त्विक मूर्तिहरू हराएका थिए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया