गलकोट । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । सिसी क्यामेरा जडानका लागि विद्यालयका पूर्वविद्यार्थी तुलवीर थापाले एक लाख ६० हजार सहयोग गरेका थिए ।
प्रशासनिक कक्ष, कक्षाकोठा र विद्यालय परिसरमा गरी १४ थान सिसी क्यामेरा जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए । विद्यालयको रेखदेख, सुरक्षादेखि कक्षाकोठामा सिकाइमैत्री वातावरण सिर्जना गर्न सिसी क्यामेराले सघाउने समितिको विश्वास छ ।
विद्यार्थी कक्षाकोठामा बस्दा पढाइमा ध्यान नदिने, अनावश्यक कुराकानीमा भुल्ने, शिक्षक पनि समयमा नआउनेजस्ता गतिविधिलाई सिसी क्यामेरामार्फत निगरानी र नियन्त्रण गरिने विद्यालय प्रशासनले जनाएको छ । “सिसी क्यामेरा जडानले विद्यालयको भौतिक सम्पत्तिको सुरक्षामा पनि टेवा पुग्ने छ”, अध्यक्ष थापाले भने।
हाल जापानमा रहनुभएका पूर्वविद्यार्थी थापाले विद्यालयको हित हेरेर सिसी क्यामेराका लागि सहयोग गरेको बताए। यसअघि थापा र उनका दाइ टेकबहादुर मिलेर मल्मका सार्वजनिकस्थलमा सिसी क्यामेरा जडानका लागि रु एक लाख ५० हजार सहयोग गरेका थिए ।
उनीहरुले केही वर्षअघि सोही विद्यालयको स्वर्ण जयन्तीका अवसरमा दिवङ्गत हजुरबुबा र बुबाको स्मृतिमा रु दुई लाख २१ हजार बराबरको अक्षयकोषसमेत खडा गरेका थिए । आफूले पढेको विद्यालयप्रतिको दायित्व सम्झेर सहयोग गरिएको तुलवीरले बताए। उनले गत महिना परेको आफ्नो जन्मदिनमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार सहयोग गरेका थिए।
जापानमा रेष्टुराँ व्यवसायमा आबद्ध तुलवीरले विपद्जन्य घटनाका कारण समस्यामा परेका परिवारलाई पनि बेलाबेलामा आर्थिक सहयोग गर्दै आएका छन् । आफू प्रवासमा रहे पनि गाउँप्रति उनको सहयोगी मन र भावना जोडिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया