दुई वर्षमा हुलाकी राजमार्ग सञ्चालनमा आउने

विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

हुलाकी सडकको कामबारे आइतबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिएका छन्। प्रमुख पाण्डेले करिब ४८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। चालु आर्थिक वर्षमा पुलको काम सम्पन्न गर्ने र दुई वर्षभित्रमा सडकको काम सम्पन्न गरिने प्रमुख पाण्डले जानकारी गराए । उनले मन्त्री घिमिरेलाई झापाका आठ वटा पुल र मोरङको रतुवामाईमा रहेको पुलका लागि बोलपत्र आह्वानको काम भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गेली र विराटनगरमा सडकमा केही समस्या छ ।” रङ्गेलीको केही स्थानमा निर्माणको डिजाइनअनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको प्रमुख पाण्डेको भनाइ छ । हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उनले बताए। उनका अनुसार विराटनगरमा छ किलोमिटर सडकमा समस्या भएकाले बोलपत्रको काम हुन सकेको छैन ।

सामाजिक विकासमन्त्री घिमिरेले आगामी दुई वर्षभित्रमा राजमार्ग सञ्चालन गर्ने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिए। उनले सडक निर्माणमा भएका समस्याबारे प्रदेश सरकारले पनि पहल गर्ने भन्दै हुलाकी सडकको चर्चा धेरै भए पनि काम नदेखिएको मन्त्री घिमिरेले चिन्ता व्यक्त गरे।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ र सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ । प्रमुख ज्ञवालीले चालु आर्थिक वर्षभित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताए ।

पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पूरा हुन नसकेको उनले बताए। सडक निर्माण भए पनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलको निर्माण भइरहेको मन्त्री घिमिरेसमक्ष जानकारी गराएका थिए।

महेन्द्र राजमार्गपछिको दोस्रो महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग निर्माणका लागि दक्षिणी क्षेत्रका जनताले वर्षौंदेखि आवाज उठाइरहेका छन् । यो मार्ग निर्माण भएपछि महेन्द्र राजमार्गको भारमा कमी आउने र दक्षिणी क्षेत्रका जनताको जीवनस्तरमा पनि परिवर्तन आउने सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए। उनले यो मार्ग तराईको दक्षिणी क्षेत्रको जनताको उन्नतिको लागि महत्वपूर्ण मानिएको र यसको निर्माणसँगै बसाइँसराइमा पनि कमी आउने धारणा राखे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?