प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आजदेखि २४ सै घण्टा आकस्मिक सेवा शुरु भएको छ । नगर प्रमुख वसन्तकुमार मिश्रले सो सेवाको उद्घाटन गरे।

सेवा शुरुसँगै राजविराज, विराटनगर र धरान जानुपर्ने अवस्थाको अन्त्य भएको व्यवस्थापन समितिका अध्यक्ष एवम् कञ्चनरूप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहले बताए। अब २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा दिने केन्द्रका इञ्चार्ज डा. सञ्जिवकुमार झाले जानकारी दिए । केन्द्रमा दुई एमबिबिएस डाक्टर, एकएक डेन्टल सर्जन र रेडियोग्राफर, दुई स्टाफ नर्स र सात स्वास्थ्य सहायकलगायत कार्यरत छन् ।

अस्पतालको स्तरोन्नतिका लागि नगरपालिकाले बिएमएलटी, फार्मेसी, अनमी र ल्याब असिस्टेण्टका लागि विज्ञापन समेत गरिसकेको अधिकृत डम्बर गुप्ताले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको नगरपालिकाले दुई आर्थिक वर्षमा एक करोड बजेटको निकासा समेत गरेको छ । कार्यक्रममा नगरप्रमुख मिश्रले आगामी दिनमा ट्रमा सेन्टर, शल्यक्रियाद्वारा सुत्केरी र सर्पदंश सेवा विस्तार गर्ने लक्ष्य लिइएको बताए।

स्वास्थ्य क्षेत्रका लागि सङ्घीय र प्रदेश सरकारको मुख नताक्नु पर्ने भन्दै नगरप्रमुख मिश्रले केन्द्रलाई आर्थिक अभाव हुन नदिने प्रतिवद्धता गरे ।

उनले थप दुई वटा एम्बुलेन्सका लागि रकम समेत बुझाइ सकिएको र चाँडै आउने जानकारी दिए । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले आकस्मिक सेवा आन्तरिक स्रोतबाटै गरिएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?