शहीदस्मृति अस्पताल सञ्चालनमा

जाजरकोट । गाउँगाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१० नेपानेमा पाँच शैयाको शहीदस्मृति नगर अस्पताल निर्माण गरिएको छ ।

अस्पतालले नगरपालिकाका वडा नं। १०, ११, १२, १३ र १४ सहित सल्यानको दार्मा गाउँपालिकाका बिरामीलाई उपचार सेवा प्रवाह गर्ने नगरप्रमुख विशाल शर्माले जानकारी दिए । अस्पताल निर्माणका लागि स्थानीयवासी टेकबहादुर बुढाथोकी र ममी बुढाथोकीले छोरी ललिता बुढाथोकीको स्मृतिमा पाँच रोपनी जग्गा दान गरेका थिए।

नवनिर्मित अस्पतालमा डा विवेक केसीको नेतृत्वमा २२ स्वास्थ्यकर्मी परिचालित हुनेछन् । नियमित आकस्मिक सेवाका साथै प्रयोगशाला, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, इसिजीलगायत सेवा सो अस्पतालबाट उपलब्ध हुनेछ ।

अस्पतालको भवन निर्माण र उपकरण खरिदका लागि हालसम्म एक करोड ४६ लाख खर्च भएको छ । अस्पतालको भवन निर्माणमा ७१ लाख, उपकरण खरिदमा ५६ लाख र ल्याब सामग्री व्यवस्थापनमा १९ लाख रुपैयाँ खर्च भएको हो । भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारको प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमले ६९ लाख रुपैयाँ खर्च भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?