कोरोना संक्रमणबाट काभ्रेमा पत्रकारसहित दुईको मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना भाइरस संक्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षीय पत्रकार विष्णुप्रसाद चौलागाई र बनेपा नगरपालिकाका ३९ वर्षीय एक पुरुष छन् ।

मृतक चौंलागाई काभ्रे पोष्ट साप्ताहिकको प्रधान सम्पादक थिए । उहाँको काठमाडौको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । चौलागाईलाई गत असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेशनमा बस्नुभएका चौलागाईलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको मृतकका भाई दिपकले बताए । दुई दशकभन्दा बढी काभ्रेपलाञ्चोकमा पत्रकारितामा सक्रिय चौलागाईंको पत्नी, एक छोरा र एक छोरी छन् ।

पारिवारिक सोतका अनुसार ‘ब्रोन्काइटिस्’ रोगपीडित चौलागाईमा कोरोना संक्रमण देखिए पनि हप्ता दिनअघि संक्रमण रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणका कारण ‘मल्टी अग्र्यान फेलिएर’ भई पत्रकार चौलागाईको निधन भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । “चौलागाईको रिपोर्ट नेगेटिभबारे जानकारी छैन तर उनको निधन कोरोना संक्रमणका कारण भएको हो” उनले भने ।

हालसम्म काभ्रेपलाञ्चोकमा १४ पुरुष र सात महिला गरी २१ को कोरोना संक्रमणका कारण मृत्यु भएको कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार विगत २४ घण्टामा २८ पुरुष र १६ महिला गरी ४४ नयाँ कोरोना संक्रमित थपिएका हुन् । आज पाँच संक्रमित कोरोनामुक्त भई घर फर्किएका छन् ।

यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म कुल संक्रमितको संख्या एक हजार ६०६ पुगेको छ । यसमध्ये ६७ प्रतिशत अर्थात् एक हजार १०३ कोरोनामुक्त भैसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४५ प्रतिशत अर्थात २१६ बनेपा नगरका हुन् । धुलिखेल नगरमा ९५, पनौतीमा ८९, पाँचखालमा १९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा २२ तथा भुम्लु गाउँपालिकामा एक, रोशीमा छ, बेथानचोकमा चार, खानीखोलामा एक संक्रमित रहेका छन् ।

यहाँको दुई स्थानीय तह चौंरीदेउराली र महाभारत गाउँपालिका कोरोनामुक्त छन् । हाल सक्रिय संक्रमितमध्ये अस्पताल आइसोलेसनमा ९० र होम आइसोलेशनमा ३९२ उपचाररत रहेको पोष्टले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?