दमौली । गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रेदेखि बुद्धसिंह मार्गको घुमाउने जोड्ने थारुवास–ढाडखोलामा सडक कालोपत्र सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थारुबासमा गत असोज पहिलो सातादेखि कालोपत्र शुरु गरिएको थियो ।
प्रदेश सरकारको ५० लाखको सहयोगमा छ सय मिटर सडक कालोपत्र सम्पन्न भएको बन्दीपुर ढाडखोला मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष सुदीन पौडेलले जानकारी दिए । सडक कालोपत्र भएपछि तनहुँ, लमजुङ, गोरखालगायतका जिल्लाका बासिन्दालाई चितवनको नारायणगढ जान सहज हुनेछ ।
अब सङ्घीय सरकारको रु एक करोड ७० लाखको लागतमासोही सडक खण्डमा थप १ हजार ५ सय मिटर सडक कालोपत्रको काम शुरु गरिनेछ । त्यसका लागि बोलपत्र सम्पन्न भइसकेको र सडक कालोपत्रेको ठेक्का दमौलीस्थित डायमन्ड कन्स्ट्रक्सन प्रालिले पाएको छ ।
सोही खण्डमा केही समय अघि दुई करोडको लागतमा नयाँ ट्रयाक खोलिएको अध्यक्ष पौडेलले बताए ।
खसी बेचेर दशैं मनाउँदै
जिल्लाको घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, व्यास नगरपालिका लगायतका ठाउँका कृषकले खसी बिक्री गरेर आम्दानीले दशैं मनाउने तयारी गरेका छन् ।
घिरिङ गाउँपालिका–२ सुन्धाराका कृषक होमबहादुर थापाले खसी बिक्री गरेर आम्दानी भएको रकमले दशैं मान्न सहज भएको बताउँदै यस वर्षको दशैंमा खसी विक्री गरेर एक लाख ६ हजार तीन सय ३० आम्दानी भएको जनाए ।
सोही ठाउँका तिलसरा थापाले दशैंमा खसी बिक्री गरेर रु ५३ हजार ७ सय ६० आम्दानी गरेका छन् । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत बाख्रापालन हो । घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाको पहलमा यहाँका कृषकले एकैदिन रु सात लाख ४१ हजार ८ सय २३ बराबरको खसीबोका बिक्री गरेका छन् । कृषकले उत्पादन गरेका खसी गाउँपालिका बाहिर बिक्री भएको सहकारीका अध्यक्ष शारदा आलेले जानकारी दिए ।
भीमाद नगरपालिका–९ भानुमतिका कृषकले पनि खसी बिक्री गरेर भएको आम्दानीले दशैं मनाउने तयारी गरेको अगुवा कृषक शिवकुमार आलेले जानकारी दिनुभयो । भानुमतिका ५० भन्दा बढी घर बाख्रापालनमा आवद्ध छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया