गोरखाका कृषकलाई सर्वाधिक राशिको पुरस्कार

झापा । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले यस वर्षको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार गोरखा जिल्लाका गाईपालक कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने निर्णय गरेको छ । झापामा रहेको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले आज प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । पुरस्कारको राशि एक लाख एक हजार १११ रहेको छ ।

नेपालमा कृषकले पाउने यो सर्वाधिक नगद राशिको पुरस्कार हो । गोरखाको पालुङटार नगरपालिका—७ च्याङ्लीमा पन्तले २०५२ सालदेखि कामधेनु गाईपालन केन्द्र सञ्चालन गर्दै आएका छन्। कृषि क्षेत्रमा राष्ट्रिय रुपमा उदाहरणीय कार्य गर्ने किसानलाई प्रतिष्ठानले वर्षेनी पुरस्कृत गर्दै आएको छ ।

पुरस्कार पाउने पन्तको गाईफार्ममा ३५० वटा गाई पालिएको र दैनिक एक हजार ३५० लिटर दूध उत्पादन हुँदै आएको छ । उनले नमुना डेरी केन्द्र, कृत्रिम गर्भाधान केन्द्र समेत सञ्चालन गर्दै आएका छन् । कोभिड–१९ को महामारीका कारण यो पुरस्कार सहज अवस्था आएपछि मात्र वितरण गरिने अध्यक्ष ओलीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?