दिपायलमा यात्रु सहायता कक्ष स्थापना

डोटी । आउँदै गरेको दशैँतिहारलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जिल्लाको पिपल्ला बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैँ तिहार नजिकिएसँगै जिल्लामा आउने यात्रुको सहायताका लागि डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दशैँतिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक अशोकबहादुर खड्काले बताए।

उनले भने,“दशैँतिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिएका छन्, यस्तो समयमा यात्रुलाई कुनै पनि कुराको समस्या नहोस् भनेर हामीले सहायता कक्ष खोलेका छौँ, समस्या परे सहायत कक्षमा आएर सहयोग लिन सकिन्छ ।”

आज स्थापना गरिएको उक्त यात्रु सहायत कक्ष विजयादशमी, दिपावली तथा छठ पर्वसम्म राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यति मात्र नभइ यात्रु सहायता कक्षमा खटिएका प्रहरीले भाडामा यात्रु ठगिने, सवारी–साधनमा क्षमता भन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्ने र यात्रुलाई समस्या परेको खण्डमा तत्काल सहयाता गर्ने गरी आदेश दिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले बताए ।

उनले भने,“यात्रु सहायता कक्षमा नागरिकका गुनासा तथा सहयोग गर्नका लागि चौबिसैघण्टा प्रहरी टोली खटिने व्यवस्था मिलइएको छ, गुनासो आए तत्काल प्रहरी टोली परिचालन हुने छ ।” जिल्ला प्रहरी कार्यालय डोटीले यात्रु सहायता कक्षमा दिनमा दुई जना तथा रातिको समयमा एक सवारी साधनसहित अवस्था हेरी आवश्यक सङ्ख्यामा प्रहरी टोली रहेर यात्रुलाई सेवा दिने व्यवस्था गरिएको छ ।

प्रहरीले खोलेको उक्त सहायता कक्षमा यात्रुले आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराबारे जानकारी लिनसक्ने छन् । जिल्लामा अहिले दशैँतिहार पर्वका लागि स्थानीयवासीको चहलपहल बढ्दै जान थालेको छ । यहाँका बजारमा नयाँ लुगाकपडा तथा सरसामान किन्नेको हिजोआज भिड लाग्न थालेको दिपायल पिपल्लास्थित उग्रतारा फेन्सिका मेखराज पाण्डेयले बताए।

उनले भने,“कोरोनाको त्रास भए पनि दशैँका लागि लुगाफाटो किन्नका लागि ग्राहक आउन थालेका छन्, उनीहरुका कारण बजारमा चहलपहलसहित व्यवसाय पनि फस्टाउन थालेको छ ।” यसैगरी कामका लागि देशका विभिन्न ठाउँमा गएका यहाँका स्थानीयवासी पनि अहिले आफ्ना घर फर्किन थालेका छन् । कोरोना भाइरसका कारण पहिलेका वर्ष जस्तो दशैँको खासै चहलपहल नभए पनि कोरोना जोखिमबाट जोगिनका लागि सबैले सावधानी अपनाउँदै दशैँका लागि घर आउने क्रम बढेको हो ।

अहिले तराईबाट पहाड आउने गाडीमा प्राय दशैँका लागि भन्दै घर आउनेको संख्या अधिक रहेको पाइएको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको एक मात्र ट्राफिक प्रहरी पोष्ट बुडरका प्रमुख तथा प्रहरी सहायक निरीक्षक राजेन्द्रबहादुर विष्टले बताए । उनले भने,“तराईबाट पहाड आउने गाडी जाँचका क्रममा प्राय दशैँका लागि घर आएको भन्ने नागरिक बढी भेटिन्छन्, उनीहरुका कारण दशैँ आएको आभास हुने गरेको छ ।”

गाउँपालिकामा विद्युत् विस्तार, स्थानीयवासी खुशी

जिल्लाको पूर्वीचौकी गाउँपालिकाको सातवटै वडामा विद्युत् विस्तार हुन थालेको छ । गाउँपालिकाको नीति तथा नियम अनुसार सबै वडामा राष्ट्रिय विद्युत् प्रसारणलाइनको विद्युत् सेवा विस्तार गर्ने योजना अनुसार अहिले गाउँगाउँमा विद्युत् सेवा विस्तार गरिन लागेको हो । गाउँगाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी निकै खुशी भएका छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् विस्तारका लागि विनियोजन गरेको २८ लाख बजेट र नेपाल विद्युत् प्राधिकरण दिपायलको प्राविधिक सहयोगमा गाउँपालिकाभरिमा विद्युत् सेवा विस्तार गरिन लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए ।

उनले भने,“गाउँपालिकाभरिमा राष्ट्रिय प्रसारणको विद्युत् पु¥याउने योजना अनुसार बजेट विनियोजन भएको थियो, सोही रकमबाट अहिले गाउँगाउँमा विद्युत् विस्तार हुँदै छ ।”गाउँमा विद्युत् विस्तारको क्रम शुरु भएसँगै अहिले उक्त गाउँपालिकाका विभिन्न वडामा कुटानी, पिसानीका मिल सञ्चालन गर्न अनुमतिका लागि निवेदन दर्ता गर्नेको घुइँचो लाग्न थालेको बताइएको छ ।

यसै सिलसिलामा उक्त गाउँपालिका–५ काडामाडौँको उपरकाँडा गाउँमा विस्तार गरिएको राष्ट्रिय प्रसारणलाइनको विद्युत् सेवा गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले एक कार्यक्रमकाबीच आज उद्घाटन गरेका छन् उक्त विद्युत् प्रशसारणलाइनको उद्घाटन गर्दै अध्यक्ष बोगटीले विगतमा जनतासँग गरेका वाचा अनुरुप आफूले गाउँमा विद्युत् विस्तार गरेको बताए ।

उनले भने,“विगतमा मैले यहाँका जनतासँग विद्युत्, सडक र खानेपानीको व्यवस्थाका लागि वाचा गरेको थिएँ सोही वाचाअनुरुप सबै कामको विस्तार गर्दै छु ।” विद्युत् विस्तार भएसँगै उक्त गाउँका मात्रै ११४ घरधुरी प्रत्यक्ष लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।
वर्षौदेखि विद्युत् सेवा नहुँदा सल्लाको दियालो (झुरो) र टुकिको भरमा उज्यालो बनाउँदै आएका त्यहाँका नागरिक गाउँमा विद्युत् विस्तार भएपछि निकै खुशी भएको पूर्वीचौकी गाउँपालिका–५ चैकोटका स्थानीयवासी चक्रबहादुर कठायतले बताए।

गाउँपालिकाका सात वटै वडामा विद्युत् विस्तार गर्ने पूर्वीचौकी गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह भएको गाउँपालिकाको दाबी छ । गाउँगाउँमा विद्युत् सेवा विस्तार भएर बिजुली बल्न थालेपछि उक्त गाउँपालिकाका सबै गाउँ रातिको समयमा झिलिभिली हुने गरेको अर्का स्थानीयवासी करण खड्काले बताए । उनले भने, “गाउँगाउँमा विद्युत् विस्तार भएको छ, दिउँसो भन्दा रातिको समयमा बढी रमाइलो र झिलिमिली देखिन्छन् अहिले हाम्रा गाउँ घर त ।” गाउँपालिकाभरिमा गएको आर्थिक वर्षको बजेट विनियोजसँगै विद्युत् विस्तारको कार्यको थालनी गरिएको बताइएको छ ।

पूर्वीचौकीलाई उज्यालो गाउँपालिका बनाउने नीतिअनुसार पहिलो प्राथमिकता विद्युत् विस्तारलाई दिइएको गाउँपालिका अध्यक्ष बोगटीले जानकारी दिए । गाउँपालिकाभरिमा केही विगत गाउँ मानिएका धानुकाँडा, बोगटी गाउँलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सेवा विस्तार भई सञ्चालनमा आइसकेको स्थानीयवासी बताउँछन् । उक्त गाउँपालिकाका प्रत्येक घरमा चालू आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने गाउँपालिकाले योजना बनाइ सोही अनुसारको हामीलाई पत्राचार गरेकाले हामीले विद्युत् विस्तारको काम अगाडि बढाइरहेको डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?