काठमाडौं । विगत लामो समयदेखि चर्चामा रहेको उपत्यकाको बहुप्रतिक्षित एंव महत्वकांक्षी योजना बाहिरी चक्रपथको काम न्यून रहे पनि यस्को चर्चाले यस क्षेत्रका जग्गाको भाउ उचालिने भएको छ ।
बाहिरी चक्रपथ विकास आयोजनाका अनुसार बाहिरी चक्रपथको नयाँ रुट र रेखाङ्कन अनुसार ७२ किमि नभएर अब जम्मा ६६.५८ किमिमा यो आयोजना अगाडि बढ्ने भएको छ ।
बाहिरी चक्रपथ भित्रको ५ सय मिटर दायाँ बाया परेको अवस्थामा त्यो जग्गा करिब ३५/४० प्रतिशत योगदान गर्नुपर्ने भएपनि बाँकी जति जग्गा रहन्छ त्यो सुन बराबरको हुने भएकोले यस क्षेत्रको जग्गाको भाउँ बढिरहेको छ ।
यो आयोजना बनेपछि अहिले आनाको ५÷१० लाखमा बिक्ने जग्गा बाहिरी चक्रपथ बनेको दुई वर्षमा नै १० गुणासम्म बढ्ने दाबी आयोजनाकै कर्मचारीले गरेका छन् । यो आयोजनामा अहिले १० लाखमा आउने जग्गा आयोजना बनेको २ वर्षमा नै एक करोड पर्न जाने भएकोले पनि जग्गा बहुमुल्य हुने उल्लेख छ ।
बाहिरी चक्रपथ निर्माणका लागि पहिलो खण्ड चोभार–सतुङगल (६.६ किमि) सहित पूरै खण्डको जग्गाको कित्ताकाँट र विक्रीवितरणमा रोक्का राख्ने तयारी प्राधिकरणकै प्रस्तावमा मन्त्रालयले अगाडि बढाएको छ । काठमाडौं उपत्यका भित्र यो बाहिरी चक्रपथ बनाउन आर्थिक वर्ष २०५६÷५७ मै गरिएको सम्भाव्यता अध्ययनमा ७२ किमि रहेको यो सडक विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) पछि भने ६६.५८ किमिको भएको प्राधिकरणको भनाइ छ ।
यो सडकको विभिन्न १० वटा खण्डमा डीपीआर तयार छ । यसमध्ये काठमाडौंको खड्का भद्रकाली सनडोल खण्डको ६.५ किमि क्षेत्र भित्र चपली घुम्ती, चनिखेल, बालुवा जगडोल भन्ञ्याङ, गोकर्णेश्वर सनडोल, घट्टेखोला नयाँपाटी सिमाना पर्छ । यसको डीपीआर भने बनाउँनै बाँकी रहेको छ ।
यही सडकको अर्को खण्ड भक्तपुरको भातेढिकुरोदेखि अरनिको राजमार्ग हुँदै नयाँ ठिमीसम्मको ५.६ किमि दूरीको पनि डीपीआर बनाउँन बाँकी छ ।
यो खण्डभित्र भातेढिकुरो अरनिको राजमार्ग नयाँ ठिमीहुँदै राधेराधेसम्म बाहिरी चक्रपथको रेखाङकन तय भएका छ ।
बाँकी आठ वटा खण्डको डीपीआर तयार भएर यसको पूर्ण विवरण मन्त्रालय पठाइएको छ । डीपीआर तयार भएको आठ वटा खण्डमध्ये काठमाडौंमा पाँच, भक्तपुरमा तीन र ललितपुरमा दुईवटा खण्ड रहेको छ । काठमाडौंको चोभार सतुङल (६.६ किमि) खण्डभित्र चोभारकै भूतखेल, पाँगा बालकुमारी, मच्छेगाउँ, सतुङ्गलहुँदै बलम्बु सम्म पुग्छ ।
सतुगल पैयाँटार (१०.९२ किमि)मा सतुङ्गल, बलम्बु, बलम्बु चुनिखेल, पुरानो नैकाप किट्नी भन्ञ्याङ, स्युचाटार किम्सी, डाडाँ पौवा, सीतापाइला, इचंगुनारायण रानीवन, पैयाँटारमा यो चक्रपथ पर्ने पनि उल्लेख छ ।
पैयाँटार खड्का भद्रकाली (६ किमि)मा धर्मस्थली, काभ्रेस्थली, फुटुङ, टोखा, खड्का भद्रकाली, विष्णु बुढालिकण्ठ, चपली घुम्तीहुँदै अगाडि बढ्नेगरी सडकको रेखाङकन सहितको डीपीआर तयार भएको छ ।
सनडोल नयाँपाटी थलीडाँछी (३.९६ किमि) खण्डभित्र चपली घुम्ती, चुनिखेल, बालुवा जगडोल भन्ञ्याङ, गाकर्णेश्वर सनडोल, घट्टेखोला नयाँपाटी सिमानासम्म पर्छ ।
भक्तपुर खण्डमा रहेको तीन खण्ड रहेको छ । यसमध्ये डीपीआर भएको थली डाँछी भातेढिकुरो (९.५१ किमि)भित्र मनोहरा खोला, चागुँनारायण, दुवाकोट, झौखेल, छालिङ, पकौनेपाटी खरीपाटी, बागेश्वरी, सुडाल, ताथली चित्तपोल, भातेढिकुरो अरनिको राजमार्गसम्म बाहिरी चक्रपथको रेखाङकनसहितको डीपीआर प्राधिकरणले तयार पारेको छ ।
यही जिल्लाभित्रको अर्को खण्ड अरनिको राजमार्ग दधिकोट सिरुटार (३.५ किमि)मा नयाँ ठिमी अरनिको राजमार्ग, कटुन्जे, दधिकोट, सिरुटार लभुको सिमानाभित्र रहेको क्षेत्रसम्म डीपीआर नै तयारी अवस्थामा रहेको बाहिरी चक्रपथ आयोजनाले जानकारी दिएको छ ।
यस्तै ललितपुरमा रहेको दुबै खण्डको डीपीआर तयार छ । ललितपुरमा लुभु हरिसिद्धि (५ किमि) खण्डमा लुभु, सानागाउँ, हरिसिद्धि र मुलसडक क्षेत्रभित्र यो सकडक पर्छ ।
यही जिल्लाभित्रको अर्को खण्ड हरिसिद्धि खोकना (८.९९ किमि) मा भने हरिसिद्धि, ठैव, भरुवारासी, धापाखेल, सानाकोठी, बुङमति, खोकना, सानोखोकना, चोभार बागमति नदी हुँदै बाहिरी चक्रपथ निर्माण हुने रेखाङ्नसहितको डीपीआर तयार भएको पनि प्राधिकरणको भनाइ छ ।
डीपीआर भएका र नभएका सबै खण्डको क्षेत्र, सिटनम्बर र रेखाङ्कनसहितको सबै विवरण आयोजनाले मन्त्रालय पेश गरेको छ ।
सबै खण्डको एकैपटक जग्गा रोक्का गर्ने र पहिलो खण्ड अगाडि बढाउने प्रस्तावसिहतको प्रतिवेदन प्राधिकरणले तयार पारेर मन्त्रालय पेश गरेको छ ।
यो आयोजना बनाउन उपत्यकाको ३ वटा जिल्लामा पर्ने रेखाङ्कन, सिमाना, आयोजनाले ओगट्ने जग्गाको कित्तानम्बर सहितको विवरण प्राधिकरणे तयार पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया