कास्की । जिल्लाको मादी गाउँपालिकाले सबै वडामा एक/एक वटा तरकारी तथा फलफूलका नर्सरी स्थापना गर्ने भएको छ । ‘कृषि क्षेत्रको अभिवृद्धि मादीको समृद्धि’ को नारालाई आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड दिएको गाउँपालिकाले जनाएको छ । साथै ‘एक वडा एक नर्सरी’ कार्यक्रम सञ्चालन मार्फत् पालिका भित्र तरकारी तथा फलफूलको उत्पादनमा प्रवर्द्धन गरी आत्मनिर्भर बन्ने लक्ष्य गाउँपालिकाले लिएको छ । कृषकलाई गाउँमै फलफूल तथा तरकारीको विरुवा सहज रुपमा उपलव्ध गराउन सो कार्यक्रम शुरु गरिएको हो ।
कोरोनाका कारणले विदेशबाट फर्किएका तथा रोजगारी गुमाएकालाई गाउँमै कृषि क्षेत्रमा स्वरोजगारका अवसरहरु सृजना गर्ने र रोजगारीका लागि विदेशिने क्रम न्यूनीकरणको गर्न कृषिलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएबमोजिम सम्भावना र उपलव्धतालाई मध्यनजर गरी सम्पूर्ण वडामा नर्सरी स्थापना कार्यक्रम कार्यान्वयनका लागि कृषक, कृषक समूह, नीजि फार्म तथा कृषि सहकारीहरुसँग प्रश्ताव आह्वान गरी कार्यक्रम कार्यान्वयन शुरु गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए। “यहाँका अधिकाँस नागरिक कृषि पेशामा आवद्ध भएपनि व्यावसायिक कृषि उत्पादनको विकास नभएकाले सहज बीउ,बिजन उपलव्ध गराएर व्यावसायिक उत्पादन अभिवृद्धि गर्ने कार्यक्रम शुरु गरेका छौँ ,” उनले भने,“प्रत्येक वडामा नर्सरी स्थापनापछि कृषकले चाहेको तरकारी तथा फलफूलका बिरुवा गाउँमै पाउनेछन् ।”
विभिन्न तरकारी,फलफूल तथा घाँसका बेर्ना उत्पादन गरी कृषकलाई सहुलियत दरमा वितरण गर्ने गरी सबै वडामा नर्सरी स्थापना हुनेछ । वडामा नर्सरी स्थापनाका लागि इच्छुक कृषक तथा समूहलाई एक लाखका दरले गाउँपालिकाले अनुदान सहयोग उपलब्ध गराइने छ ।नर्सरी स्थापना तथा व्यवस्थापनका लागि छनोट भएकाहरुले मौसमी तथा बमौसमी तरकारीका बेर्ना तथा बिरुवा उत्पादन गरी माग अनुसार अन्य कृषकलाई पालिकाले तोकेको सहुलियत दरमा उपलव्ध गराउनुपर्नेछ ।
गाउँपालिकाले समृद्धिको प्रमुख आधारमा रुपमा पर्यटन र कृषिलाई राखेको छ । कोरोना भाइरसको संक्रमणबाट पर्यटन क्षेत्र प्रभावित भएपछि गाउँपालिकाले कृषि विकासमा ध्यान केन्द्रित गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले कृषि उत्पादन वृद्धिका लागि सबै वडामा नर्सरी स्थापना सहित बीउबिजन, फलफूल बेर्ना, प्लास्टिक टनेल, असिना नेट, प्लास्टिक पोखरी, खेत जोत्ने ट्याक्टर मौरी घारलगायत उत्पादन सामग्रीमा अनुदान दिने कार्यक्रम रहेको जानकारी दिए ।
मागका आधारमा सबै कृषि उपकरण तथा बीउ बिजनमा ५० प्रतिशतसम्म अनुदान दिने नीति पालिकाको रहेको उहाँले जानकारी दिए ।“पालिकाको माथिल्लो भेगमा पशुपालनको बढी सम्भावना भएको सो क्षेत्रमा डालेघाँस,भुँईघाँसको नर्सरी स्थापना गछौँ भने तल्लो क्षेत्र तरकारी र फलफूल उत्पादनका लागि अनुकुल छ,सो क्षेत्रमा काउली,बन्दा, गोलभेँडा लगायत तरकारी तथा फलफूलका नर्सरी स्थापना गछौँ ।”उनले भने ।
युवा वर्गलाई कृषिमा आकर्षित गराउन पालिकामा ‘अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम’,अनुदानमा आधारित कृषि विकास कार्यक्रममा गाउँपालिकाले जोड दिएको छ ।
साथै कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण, व्यवसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिन कृषि उपकरण तथा औजार उपकरणमा अनुदान दिने कार्यक्रमलाई चालू आवमा पनि कार्यान्वयनमा ल्याउने गाउँपालिकाले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया