गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले यहाँस्थित कालिपुल बसपार्कमा भगवान शिवको स्वर्ण स्तम्भको आज शिलान्यास गरेका छन् ।
उनले म्याग्दी उद्योग वाणिज्य सङ्घको स्वर्ण जयन्ती (५० औं वर्षगाँठ) को अवसर पारेर भगवान शिवको स्वरुप झल्कने स्वर्ण स्तम्भको शिलान्यास गरेका हुन्। सदरमुकाम बेनी प्रवेश गर्ने आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने गरी कूल तीन लाख ५२ हजारको लागतमा करिब सात फिट अग्लो स्तम्भ निर्माण हुने बताइएको छ ।
सो अवसरमा नगरप्रमुख श्रेष्ठले यहाँको पर्यटन प्रवर्द्धनमा स्वर्ण स्तम्भले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै नगरको विकासमा सबैको सहयोग र समन्वय आवश्यक भएको बताए।
सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सङ्घले स्वर्ण जयन्तीको अवसरमा बाढीपहिरो पीडितलाई राहत र बिरामीलाई फलफूल वितरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दैं आएको बताए ।
कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष जीवनकुमार विश्वकर्मा, बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईलीलगायत सहभागि थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया