सिट क्षमताभन्दा बढी यात्रु

झापा । मेची राजमार्गको चारआलीबाट चन्द्रगढी चल्ने मिनी बसले गाडीभरि यात्रु राख्दै भाडा बढी लिने गरेका छन् । कोभिड –१९ को महामारीका कारण सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७’ को धज्जी उडाउँदै क्षमताभन्दा बढी यात्रु कोचेर साविक भन्दा ५० प्रतिशत बढी भाडा असुलेका हुन् ।

व्यवसायीले निर्देशिका विपरित सिट क्षमताभन्दा बढी यात्रु कोच्ने, भाडा बढी असुल्ने र गाडीमा सेनिटाइजर समेत नराख्दा कोरोनाको सङ्क्रमण बढ्ने यात्रुहरुको गुनासो छ ।

चन्द्रगढी–१० की धनमाया लिम्बूले सार्वजनिक सवारी साधनमा स्यानिटाइजर समेत नराखी मापदण्ड विपरित यात्रु राख्दा समेत ट्राफिक प्रहरीले बेवास्ता गर्दा कोरोना संक्रमणको उच्च जोखिम हुने बताइन् ।

“निर्देशिकामा सरकारले सिट क्षमताको आधा मात्रै यात्रु राखेर थप ५० प्रतिशत भाडा लिन पाउने व्यवस्था गरेको छ”, उनले भनिन् “ न सेनिटाइजर, न सामाजिक दूरी, चालक सहचालकले उल्टै यात्रुलाई सरकारले तोकेको भाडा खुरुक्क तिर्नुहोस् भन्दै हप्काउने गर्छन् ।”

पूर्वाञ्चल जीप व्यवसायी संघमार्फत चन्द्रगढी– चारआली सडकखण्डमा २३ वटा मिनी बस चलिरहेको संघका सचिव जय रिमालले बताए। उनले निर्देशिका विपरित जुनसुकै गाडीले यात्रु बढी उठाएर भाडा लिएमा जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा कारवाही गरिने बताए ।

चन्द्रगढीबाट चारआली १० किलोमिटर छ । जहाँ यातायात व्यवसायीहरुले रु। ५० भाडा लिने गरेका छन् । “कोरोनाको जोखिम बढिरहेको छ”, उनले भने,“हामीले सबैलाई गाडीमा सेनिटाइजर राख्न, एकसिट बराबर एक जना मात्र यात्रु राख्न पत्राचार गरिसकेका छौं ।

कसैले अटेर गर्छ भने ऊ दण्डको भागीदार बन्नुपर्छ ।” जिल्ला प्रहरी कार्यालय विर्तामोडका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले आधा सिट भन्दा बढी यात्रु राख्ने, सेनिटाइजर नराख्ने र चालक तथा सहचालकले मास्कको प्रयोग नगरेको पाइएमा ५०० देखि एक हजार ५०० सम्म जरिवाना गरिने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?