पक्राउ परेका नेता कार्यकर्ता रिहाईको माग

काठमाडौं – नेपाल विद्यार्थी संघले प्रदेश ५ को राजधानी दाङ प्रस्ताव गरेको विरोधमा गरिएको आन्दोलनमा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गरेको छ ।

वुटवलमा भइरहेका प्रदर्शन, सरकारी दमन र धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल विद्यार्थी संघले पक्राउ परेका नेता–कार्यकर्ता तत्काल बिना सर्त रिहाइको माग गरेको हो । आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण ढंगबाट छलफल गरिरहेको अवस्थामा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरु हरिलाल पाण्डे, शिव गैरे,बिष्णु पोख्रेल, ज्ञानेन्द्र कार्की, तरुण नेता प्रकाश गैरे पत्रकार कमला पाण्डे लगायतलाई गरिएको गिरफ्तारीप्रति घोर भर्त्सना गर्दै तत्काल बिनासर्त रिहाइको माग गरिएको छ ।

प्रदेश नम्बर ५ को राजधानी सम्बन्धमा सरकारको निर्णयपछि छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड‌, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापुर्बक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज भएको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तिमा गिरफ्तार गरिएका सम्पुर्ण नेताहरुको रिहाइ र वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गर्दै अन्यथा नेबिसंघको नेतृत्वमा कडा संघर्षमा उत्रने चेतावनी दिइएको छ ।

प्रदेश ५ का मुख्यमन्त्रीलाई लक्षित गरेर ढुंगा प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?