कञ्चनपुर । नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँस्थित बन्द विमानस्थलको धावन मार्गबारे जानकारी लिनका लागि आज स्थलगत निरीक्षण गरेको छ । प्राधिकरणको धनगढी विमानस्थल आयोजना सुपरीटेन्डेन्ट इन्जिनीयर राजन श्रेष्ठसहित पूर्ववरिष्ठ अधिकारीसहितको टोलीले विमानस्थल निरीक्षण गरेको हो ।
प्राधिकरणको धनगढी विमानस्थल आयोजना प्रमुख श्रेष्ठले विमानस्थलको धावनमार्गको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षण गरिएको बताए । “विमानस्थल अवतरण गर्नका लागि मैदानको अवस्था कस्तो रहेको छ भन्ने बारे जानकारी लिनका लागि निरीक्षण गरेका छौँ”, आयोजना प्रमुख श्रेष्ठले भने “जहाज अवतरणका लागि एक हजार ५२५ मिटरको मैदान चाहिन्छ । त्यो भए नभएको बारे जानकारी लिइएको छ ।”
गत वर्ष प्राधिकरणले विमानस्थल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गराएको थियो । त्यही अध्ययनले तत्काललाई एक हजार ५२५ मिटर लम्बाइको धावनमार्गमा समेत जहाज चलाउन सकिनेलगायतका विकल्प दिएको थियो ।
उत्तर दक्षिणको धावनमार्ग अहिले एक हजार ६६५ मिटर लम्बाइको छ । यो लम्बाइ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्रसम्म पुगेको छ । प्राधिकरणको टोलीलाई प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले विमानस्थल सञ्चालनमा सक्दो सहयोग हुनेमा आश्वस्त पारेका छन् ।
सुदूरपश्चिम प्रदेशसभा सदस्यहरु प्रकाश रावल, मानबहादुर सुनार र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले विमानस्थल सञ्चालनका लागि तीनै तहको सरकारले सहयोग गर्ने पुनः प्रतिवद्धता जनाएका छन् । यस वर्ष धावनमार्गलगायतका संरचना निर्माणका लागि बजेट विनियोजन गरिएको छ । प्राधिकरणले आगामी फागुनदेखि रन वे कालोपत्रेलगायतका कार्य शुरु गर्ने भएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया