अन्ततः कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको भोलीका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ ।

नेताहरुमा कोरोना संक्रमण देखिएपछि भोलीका लागि बोलाइएको बैठक स्थगित गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार भोलीको बैठक स्थगित बैठक आगामी असोज २५ गते बस्नेछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पीसीआर परिक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु- अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायत अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्ति तथा काठमाडौं बाहिर परीक्षण गरेका केन्द्रीय सदस्यहरु-रमेश रिजाल र अजयकुमार चौरसियामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्यको मापदण्डलाई ध्यानमा राखी आगामी असोज २५ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्यसचिव पौडलले बताए । “स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको छ ।” उनले भने ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि समेत अनुरोध गरिएको उनले बताए ।

त्यस्तै कोभिड-१९ पोजिटिभ देखिएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शिध्र संक्रमण मुक्तिको कामना समेत कांग्रेसले गरेको छ । नेताहरुमा कोरोना संक्रमण देखिएसँगै आगामी ५ दिनका लागि कांग्रेस केन्द्रीय कार्यालय समेत बन्द गरिएको छ । कार्यालय आइतवार (आज) देखि असोज २२ गतेसम्मका लागि बन्द गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?