कांग्रेसमा उत्पन्न आन्तरिक अविश्वास हटाउन सभापति शेरबहादुर देउवाले अग्रसरता लिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालयमा दर्ता गरेको ज्ञापनपत्रमार्फत उठाएका मुद्दामा सहमति जुटाउन शनिबार दुवै पक्षका पदाधिकारी, पूर्वपदाधिकारीसहित केही केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक उनले राखेका छन् ।
महाधिवेशनको मुखमा पार्टीका केन्द्रीय विभाग गठन र तिनमा सदस्यको मनोनयन, क्रियाशील सदस्यता वितरणमा अनियमितता भएको मुद्दा उठाउँदै पौडेल पक्षले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र दर्ता गराएको थियो । पौडेल पक्षले आगामी १९ गतेको केन्द्रीय कार्यसमिति बैठकसम्म आफूले उठाएका मुद्दाहरूको सम्बोधन गर्न अल्टिमेटम दिएको छ । माग सम्बोधन नभए पार्टी नेतृत्वविरुद्ध चरणबद्ध विरोध गर्ने चेतावनी दिइएको छ ।
शनिबारको बैठकमा सुरुमै वरिष्ठ नेता पौडेल र उनी पक्षीय नेताहरूले केन्द्रीय कार्यसमितिमा दर्ता गराइएको ज्ञापनपत्रमा उल्लिखित मुद्दाबारे प्रस्ट्याएका थिए । पौडेल पक्षले ज्ञापनपत्रमा महाधिवेशनको तालिका घोषणा भएर प्रक्रिया अघि बढिसकेपछि गठन भएका केन्द्रीय विभागहरू खारेज गर्नुपर्ने मुद्दा उठाएको छ । विभाग गठन पार्टीको विधानविपरीतसमेत रहेको पौडेल पक्षको तर्क छ । पार्टी सभापति देउवाले विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग चार वर्षको कार्यकाल सकिएपछि गठन गरेका थिए । देउवाले २० विभागमा करिब ९ सय जनालाई मनोनयन गरेका छन् ।
देउवाले क्रियाशील सदस्यतालगायत अन्य मुद्दामा अविश्वास हटाउन सकिने बताउँदै आएका छन् तर विभाग खारेज गर्न उनी तयार छैनन् । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया