भारतीय राजदूतावास काठमाडौंले नेपाल-इण्डिया ‘फ्रेन्चाइज इन्भेष्टमेण्ट एक्स्पो एण्ड कनक्लेभ’ आयोजना गर्ने

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डट कमसँगको सहकार्यमा दोस्रो’फ्रेन्चाइज इन्भेष्टमेण्ट एक्स्पो एण्ड कनक्लेभ’ को आयोजना गर्ने भएको छ ।

‘फ्रेन्चाइज इन्भेष्टमेण्ट एक्स्पो एण्ड कनक्लेभ’ को आयोजना यहि असोज ३० देखि कार्तिक २ गतेसम्म हुने भएको हो ।

उक्त तीन दिने सम्मेलनको आयोजना यसै कार्यक्रमका लागि विशेष रुपले तयार पारिएको थ्री डी टेक्नोलोजी सहितको भर्चुअल प्लेटफर्म मार्फत गरिने बताइएको छ ।

यस सम्मेलनको पहिलो संस्करण गत मे २०१९ मा सम्पन्न भएको थियो । उक्त सम्मेलनले राम्रो प्रतिक्रिया बटुलेको थियो ।

उक्त सम्मेलनमा भारतका ७० तथा नेपालका २० वटा अग्रणी ब्राण्डहरुको सहभागीता रहेको थियो। नेपालका दुई हजार भन्दा बढी उद्यमीहरुको सहभागीता रहेको उक्त सम्मेलनले यी ब्राण्डहरुसँग सहकार्य तथा व्यापार बिस्तार गर्ने अवसर प्रदान गरेको थियो । सो सम्मेलनमा ५० भन्दा धेरै व्यापार साझेदारी सहकार्य सम्पन्न भएको थियो ।

स्टार्टअप व्यापार व्यवसाय तीव्र रुपमा बढिरहेको बेला यो सम्मेलनदे राम्रो नतिजा ल्याउने बताइएको छ । नयाँ उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसायलाई चाँडो शुरु गर्न अवसर प्रदान गर्ने भएकोले पनि यस्ता कार्यक्रमबाट दुबै तर्फका ब्राण्ड तथा फ्रान्चाइजहरुले प्रचुर मात्रामा लाभ उठाउन सक्ने सम्मेलनको लक्ष्य रहेको छ ।

यस्ता कार्यक्रमले नव उद्यमीहरुलाई घरेलु अर्थतन्त्रमा सफलता हासिल गरेका ब्राण्डहरुसँग मिलेर कसरी आफ्नो ब्राण्डलाई अगाडि ल्याउनेबारे बुझ्न मद्दत गर्ने बताइएको छ । यस पटकको दोस्रो संस्करणको सम्मेलनले भारतका प्रतिष्ठित ब्राण्डलाई नेपालमा ल्याउन र नेपालका ब्राण्डलाई भारतमा पुर्याउन मद्दत गर्नेछ । एक अर्काको अर्थतन्त्रमा यस्ता ब्राण्डहरुको प्रवेशले लगानी भित्राउने मात्र नभई प्रविधि तथा व्यवहारिक ज्ञानको आदानप्रदानलाई समेत प्रेरित गर्ने बताइएको छ।

आफ्नो ब्राण्डलाई अगाडि ल्याउन चाहाने वा फ्रान्चाइजको खोजीमा रहेका इच्छुक सबैले वेबसाइटमा गई दर्ता गराउन सक्ने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?