विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो । थपिएका संक्रमितमा मोरङका १४६ मध्ये विराटनगरमा १२३ , सुनसरीमा २३, झापामा २१, तेह्रथुममा दुई र प्रदेश बाहिर पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये महिला ६५ र पुरुष १३२ छन् भने विराटनगरमा थपिएका मध्येमा महिला ४७ र पुरुष ७६ रहेका छन् ।
यसप्रदेशमा कोरोना संक्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ । हालसम्म तीन हजार ४३८ निको भएर घर फर्किसकेका र एक लाख २५ हजार ६८१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
तीन दिनमा ३४६ जना संक्रमित
सुदूरपश्चिम प्रदेशमा आज १२०जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कूल संक्रमित सात हजार ४९५जना पुगेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सक्रिय संक्रमित बिरामी एक हजार चार जना रहेका छन् ।
असोज महिना लगेसँगै कोरोना संक्रमितको मृत्यु दर बढ्दा पछिल्ला तीन दिनमा सङ्क्रमणको दर पनि उच्च देखिएको छ । पछिल्लो तीन दिनमा मात्र प्रदेशमा ३४६जना संक्रमित थपिएका छन् । पछिल्लो दुई हप्तायता कैलालीमा तीन, र अछाम, डडेलधुरामा एक÷एक जना समेत पाँच जनाको मृत्यु भएको छ । हालसम्म कैलाली जिल्लाका नौ ,अछाम, बझाङ,र बाजुराका दुई÷दुई र डडेलधुरा र बैतडीका एक÷एक समेत १७ जना संक्रमितको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा कोरोना भाइरसको स्वाब सङ्कलन केन्द्र स्थापना गरिएको छ । जर्मन राजदूतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको पहलमा धनगढी उप–महानगरपालिमा स्थापना गरिएको स्वाब सङ्कलन केन्द्रको आज नगर प्रमुख नृपबहादुर वड र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा।गुणराज अवस्थीले संयुक्त रुपमा शुभारम्भ गरे ।
सो अवसरमा नगर प्रमुख वडले स्वाब सङ्कलन केन्द्र सञ्चालनमा आएसँगै कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन कार्य सहज हुने बताए । उपमहानगरपालिका कार्यालयको पहलमा हाल कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा समुदाय स्तरमा शिबिर सञ्चालन गरी स्वाब सङ्कलन भइरहेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा.अवस्थीले धनगढी उप–महानगरपालिकाले कोरोना रोकथामका लागि गरिरहेको काम नमूनाको भएको बताए।
रेडक्रसले कोरोना रोकथाम र उपचार व्यवस्थापनका लागि यस अघि पनि उपमहानगरपालिकालाई विभिन्न समाग्रीको सहयोग गरेको थियो ।
पछिल्ला दिनमा उपमहानगरपालिका क्षेत्रमा कोरोना समुदाय स्तरमा फैलिएको नगरपालिका कार्यालय, स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए । नगर क्षेत्रमा आज सम्म कूल संक्रमित भएका ७०३ मध्ये १९६जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ९० प्रतिशत स्थानीय समुदाय भित्रकै व्यक्ति र बाँकी दश प्रतिशत बाहिरवाट आएकामा सङ्क्रमण भएको पाइएको जनाइएको छ ।
संक्रमितको सङ्ख्या तीन हजार ७२९ पुग्यो
पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण बढ्न थालेको छ । यद्यपि सरकारी कार्यालयदेखि बाटोघाटो, चियापसल, धारा पँधेरा र सडकलगायत जताततै मान्छेको भीड पनि त्यत्तिकै बढेको देखिन्छ । शुरुका दिनहरु जस्तो सावधानी कोही कसैले अपनाएको देखिदैन । आजको दिनमा मात्रै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ७७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भएको परीक्षणमा नौ गरी ८६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।
“बिहीवार पनि कर्णालीमा १०५ जनामा कोरोना संक्रमण देखिएको थियो,” उनले भने, “आज ८६ जना थपिएसँगै संक्रमित हुनेको सङख्या तीन हजार ७२९ पुगेको छ ।” संक्रमितमा सुर्खेतका ५३, जुम्लाका सात, दैलेखका छ, कालीकोटका चार, जाजरकोटका दुई र प्रदेशबाहिर १४ जना रहेको उनले बताए । अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका १९, स्वास्थ्यकर्मी १२, कर्मचारी आठ, क्वारेन्टाइनमा रहेका छ, सशस्त्र प्रहरी पाँच, एयरलाइन्स कर्मचारी चार, प्रहरी तीन, बिरामी र शिक्षक दुई/दुई जना रहेका छन् । त्यस्तै, इन्जिनियर, थुनुवा, अटोचालक, कृषकहरु पनि संक्रमण देखिएको छ ।
हाल यहाँ सक्रिय कोरोना संक्रमितको संख्या ४९२ रहेको जनाउँदै उनले आज तीन जना घर फर्किएका छन् । कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या तीन हजार ४५ पुगेको छ । कोरोना महामारीविरुद्ध सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँ संक्रमणले सबै क्षेत्रमा जोखिम बढाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया