महोत्तरी । नदीजन्य प्राकृतिक स्रोतसाधनको अबैध उत्खनन् रोक्नका लागि महोत्तरीका जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्लाको सुदूर उत्तरवर्ती बर्दिवास नगरपालिका क्षेत्रका नदी र नदीउकास क्षेत्रमा भइरहेको उत्खनन् कार्यको अनुगमनपछि जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् ।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, सशस्त्र र नेपाल प्रहरीका जिल्लास्थित प्रमुख, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख र सञ्चारकर्मीलगायत सहभागि थिए ।
“हामीले जिल्लामै सबैभन्दा बढी अबैध उत्खनन् भइरहेको गुनासो आउने बर्दिवास नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रको संयुक्त अनुगमन गर्यौं”, जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले भने, “अब सुदृढ इच्छाशक्तिसाथ अबैध दोहन रोक्न हामी सामूहिक प्रतिबद्धता गरेका छौं ।” मापदण्डविपरित भइरहेको उत्खनन् रोक्न सम्बन्धित स्थानीय तहले नियमन गर्ने र स्थानीय प्रहरी÷प्रशासनले उच्चतम समन्वय गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको उनको भनाइ छ ।
जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा नदी र नदीउकास बगरमा अबैध उत्खनन् गर्दै आएका ७० भन्दा बढी क्रसर उद्योग छन् । सङ्ख्यात्मक रुपले बर्दिवास, भङ्गहा अबैध दोहनको मुख्य थलो रहँदै आएको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ । विशेषगरी जिल्लाका अधिकांशे क्रसर उद्योगहरु नियम र मापदण्डविपरित सञ्चालन हुँदै आएका छन् । “अधिकांश क्रसर उद्योग दत्र्ता नै भएका छैनन्, दत्र्ता भएका पनि नवीकरण गराएका छैनन्”, प्रमुख सिंहले भने, “अब स्थानीय तहले अनुगमन र नियमन प्रक्रियालाई तीब्रता दिनेछन्, सीङ्गो जिल्ला नेतृत्वको यस अभियानमा उच्च स्तरको सहयोग, समन्वय र सहकार्य हुनेछ ।”
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पनि अबैध उत्खनन् र ऐलानी पर्ति जमिनमा भइरहेको अतिक्रमण रोक्न स्थानीय तहसँगै प्रशासनिक निकाय पनि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । अनुगमनका क्रममा उत्खनन् र नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका १० वटा गाडी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालिएको उहाँको भनाइ छ । जल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा क्रसर उद्योगीले बनाएका अजङ्का खाल्डा अनुगमनका क्रममा भेटिएका छन् । भूगोल नै कुरुप बनाउने गरी हुँदै आएको अबैध उत्खनन् कार्य अब आफ्नो नगरक्षेत्रमा कडाइका साथ रोकिने बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले बताए ।
जिल्लाको सुदूर उत्तरीक्षेत्रका नदीमा उत्खनन् तीव्र रुपमा बढ्दा नदीको धार परिवत्र्तन भई जिल्लाको मध्य र दक्षिणीक्षेत्रमा उब्जाउ जग्गा बालुवाले भर्दै आएको गुनासो विगत देखिकै छ । जिल्लाका जनप्रतिनिधि र प्रहरी प्रशासन प्रमुखले अबैध उत्खनन् रोक्ने प्रतिबद्धता जनाउनु राम्रो भएपनि यसको मूल्याङ्कन भने काम हेरेर मात्र गर्न सकिने बर्दिवास–१४ का सामाजिक, राजनीतिक कार्यकत्र्ता शङ्कर फुँयालको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया