काठमाडौं । धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा भोलिदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।
निजी क्षेत्रको बुद्ध यएरले काठमाडौं-धनगढी-काठमाडौं सम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।
एउटै समयमा धेरै उडान गर्दा बढ्ने भीडभाडले कोभिड-१९ को जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर एक पटकमा एउटामात्र उडान हुन लागेको उनले बताए ।
समिट यएरले केही दिनअघि नेपालगन्ज-बाजुरा-धनगढी र धनगढी-बाजुरा-नेपालगन्जसम्म दुईवटा चार्टर उडान गरेको थियो । यात्रुको सङ्ख्याका आधारमा आगामी दिनमा समिट एयरले सुदूरपश्चिमका केही जिल्लामा नियमित हवाई सेवा शुरु गर्न सक्ने जनाइएको छ ।
प्रदेशको डोटी, बैतडी र बझाङमा रहेका विमानस्थलको धावन मार्गको कालोपत्र लगायतका कामको स्तरोन्नति भइसकेकाले यी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरिएको छ । यात्रुको सङ्ख्या बढ्दै गएमा आगामी दिनमा यी विमानस्थलमा नियमित रुपमा हवाई सेवा सञ्चालन गर्न सकिने देखिएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको धनगढीस्थित कार्यालय बन्द गरिएको छ । निगमसँग धनगढी रुटमा चल्ने जहाजको अभाव भएकाले काउन्टर बन्द गर्नु परेको कार्यालयका प्रमुख हरिदत्त पन्तले बताए । निगमले धनगढी विमानस्थलबाट कोभिड-१९ को सङ्क्रमण फैलिनु अघि गत चैतसम्म काठमाडौं-धनगढी-काठमाडौंसम्म हप्तामा तीन दिन ‘एमए ६०’ जहाजमार्फत हवाई सेवा उपलब्ध गराउँदै आएको थियो ।
“नयाँ जहाजको व्यवस्था नहुन्जेलसम्म काउन्टर पुनः सञ्चालन हुँदैन”, उनले भने, “एमए ६० जहाज खर्चिलो र उपयुक्त नभएको देखियो ।”
निगमको धनगढी कार्यालय (काउन्टर) बन्द भएसँगै त्यहाँ ज्यालादारी र कारार सेवामा कार्यरत कर्मचारीको म्याद नथपिएको जनाइएको छ । पाँचजना स्थायी कर्मचारीमध्ये कार्यालय प्रमुख पन्तसहित चार जनाको काठमाडौं र एक जनाको दाङ सरुवा भएको छ ।
देशभरका नाफा कमाउने दशवटा विमानस्थलमध्ये धनगढी विमानस्थल पनि हो । कोरोना सङ्क्रमण रोकथामका लागि चैत ११ गतेदेखि यो विमानस्थलमा हवाई सेवा बन्द हुँदा परेको प्रभावको असर विमानस्थलको आम्दानीमा पनि परेको छ ।
विमानस्थल कार्यालयका प्रमुख बुढथापाले भने, “महिनामा २५ लाखदेखि ३० लाखको आम्दानी हुने गरेकामा हवाई सेवा बन्दा हुँदा आम्दानी गुमाउनु परेको छ ।”
कोरोना सङ्क्रमणको अवस्थाले देखिएको तहसनहसको अवस्थालाई अब कसरी व्यवस्थित पार्ने र पुरानै लयमा फर्काउने भन्ने चुनौती रहेको उनले बताए ।
स्तरोन्नतिः
विमानस्थलको स्तरोन्नतिको कार्य विगत केही वर्षदेखि भइरहेको छ । यस क्रममा विमानस्थलको एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावन मार्गको कालोपत्रको स्तरोन्नति भइसकेको छ । यो विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दमकल राख्ने घर ‘फायर बिल्डिङ’ र ओभरहेट ट्याङ्की निर्माणाधीन छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया