काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ६ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ६ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
कोरोना संक्रमण मुक्त ६ जिल्लाहरु
- सोलुखुम्बु
- मुस्ताङ
- डोल्पा
- हुम्ला
- मुगु
- म्याग्दी
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ३७५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ समेत गरी ४४६ जना महिला र १ हजार १३ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार ७७९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ६४० जना र संस्थागत आईसोलेसनमा ८ हजार १३९ जना छन् । तिमध्ये १७४ जना संक्रमितको आईसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार २५० जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, मकवानपुर, भक्तपुर, चितवन, र रुपन्देही गरि ७ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३७१ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ११ जनाले ज्यान गुमाएका छन् । हिजो आईतवार नेपालमा १ हजार १७० जनामा संक्रमण पुष्टि भएको थियो । ८८९ जना संक्रमणमुक्त भएका थिए भने १५ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया