हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

काठमाडौं । सिन्धुपाल्चोककी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ कि ३४ वर्षीय पासाङ लामालाई स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि बिहीबार दिउँसो हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचारको व्यवस्था मिलाइएको हो ।

२१ गते बुधबार बेलुका सुत्केरी व्यथाले च्यापेपछि उनलाई स्थानीय थाङपालधाप स्वास्थ्य चौकी पु-याइएको थियो । तर पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था असुरक्षित देखिएको र यस अघि समेत उनले मृत्यु बच्चा जन्माएको हुनाले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आत्माराम धितालले जानकारी दिए । सो सिफारिसबारे मन्त्रालयले जानकारी पाएलगत्तै हवाई उद्धारको आवश्यक व्यवस्था मिलाएको थियो । अस्पतालमा पु-याइएको आधा घण्टा पनि नबित्दै पासाङले बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले मन्त्री पार्वत गुरुङलाई सम्पर्क गरेपछि उद्धारका लागि तत्काल आवश्यक व्यवस्था मिलाइएको थियो ।

यस मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । हालसम्म ११९ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको कार्यक्रम समन्वय इकाईकी प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?