झापुटार-चालिसे सडक अवरुद्ध

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटार–चालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको वर्षापछि आएको पहिराले उक्त सडक अवरुद्ध भएको हो ।

पहिराले विभिन्न पाँच ठाउँमा ठूला–ठूला ढुङ्गा झरेको छ भने लेदो माटो जम्मा भएको ऋषिङ–४ का वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए । ”झापुटारभन्दा थोरै माथि पक्की रहेको बाटो नजिकबाट पाँच वटा ठूला ठूला पहिरा झरेका छन्”, उनले भने, “कतिपय ठाउँमा त बाटोको निशाना नै नरहने गरी पहिरा झरेर समस्या भएको छ ।”

उनका अनुसार अधिकांश ठाउँको पहिरा हटाइसकिएको र अब एक ठाउँको मात्रै पहिरा हटाउन बाँकी छ । “झापुटारबाट ठूलो मेशिनको प्रयोग गरेर बाटो सफा गरिए पनि ठाउँ–ठाँउमा पानीको निकास मिलाउनुपर्ने भएकाले बाटो पुनःसञ्चालन गर्न समय लागेको हो”, उनले भने । ऋषिङ–२ डाँडाखुँदीको उकालोको पहिरा हटाएर एक÷दुई दिनमा नै चालिसेसम्मको बाटो सफा गरिने अध्यक्ष रानाभाटले जानकारी दिए।

तीन सातादेखि पहिराले सडक अवरुद्ध हुँदा सवारीमार्फत गाउँ जाने सर्वसाधारणलाई समस्या भएको छ तर पैदल हिँड्नका लागि भने कुनै समस्या छैन । “पैदल हिँड्नका लागि छोटो दूरीको बाटो छ, सवारी साधनमा जाने सर्वसाधारणलाई भने बाटो बन्द भएका कारण समस्या भएको छ”, उनले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?