संक्रमित बढिरहे सरकारले नयाँ निर्णय लिने

लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले छलफल थालेको छ । समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गरेको हो ।
साउन ६ गते लकडाउन सकिएको घोषणा गर्दा मुलुकमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० थियो । तर पछिल्ला ९ दिनमा १२ जनाको मृत्यु भइसकेको छ । यस्तै, साउन ६ गते संक्रमित संख्या १७ हजार ९ सय ९४ थियो भने साउन १५ गतेसम्ममा उक्त संख्या बढेर १९ हजार ५ सय ४७ भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकमा सीसीएमसी सचिवालयले संक्रमणको स्थिति प्रस्तुत गरेको थियो । तथ्यांकको विश्लेषण गर्दै समितिका सदस्यहरूले एक–दुई दिन परीक्षणको दायरा बढाएर हेर्ने र त्यसपछि पनि संक्रमण बढेको पाइए नयाँ निर्णय लिनुपर्ने निचोड निकालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार सरकारले सीमा क्षेत्रमा अझै कडाइ गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?