कांग्रेसमा तीन गुटबाट सभापतिमा ८ आकांक्षी (नामसहित)

काठमाडौं । आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ ।
केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् । यतिसम्मकी हाल कांग्रेसभित्र स्थापित रहेका गुटभित्रै समेत सभापतिका लागि आकांक्षा देखाउनेहरू बढ्न थालेका छन् । जसअनुसार अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरे पनि कांग्रेसभित्रका तीन फरक फरक गुटमा आठ जना आकांक्षी देखिएका छन् ।

कांग्रेस नेतृत्वका लागि फेरि एक पटक वर्तमान सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने उनी निकट नेताहरू बताउँछन् । राजधानी दैनिकमा खबर छ ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् । तर, उनी आफैंले भने सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् ।

यसैगरी, १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेर कांग्रेसभित्र आफ्नो गुट स्थापित गरेका नेता कृष्णप्रसाद सिटौला र हाल उपसभापति रहेका विमलेन्द्र निधिले समेत सभापतिका लागि आफू तयार रहेको सन्देश दिइसकेका छन् ।

यसैगरी, कांग्रेसका वर्तमान महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह, डा शेखर कोइरालाले समेत १४औं महाधिवेशनका लागि नेतृत्वका लागि आकांक्षा देखाइरहेका छन् ।

यसैगरी, कांग्रेस युवा नेता गगन थापाले समेत आफू सभापतिको आकांक्षी रहेको जनाउ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?