काठमाडौं – साउदी अरेबियाको गृह मन्त्रालयले अनुमति विना नै हज यात्राको लागि मक्का जाने मानिसहरुलाई १० हजार साउदी रियाल अर्थात् दुई हजार ६६६ अमेरिकी डलर जरीवाना लगाउने निर्णय गरेको समाचार छ । साउदी अरेबियाले यस वर्ष कोरोना भाइरस ‘कोभिड – १९’ को महामारीको कारण हजयात्राको लागि मक्का जाने मानिसको संख्या सीमित पारेको अरब न्यूज डटकमले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको खबरहरुका अनुसार साउदी अरेबियाको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रतिबन्ध जुलाई १९ देखि २ अगष्टसम्म जारी रहनेछ । दोस्रोपटक पनि यो प्रतिबन्ध उल्लंघन गर्दा पक्राउ परेका मानिसलाई पाँच हजार ३३२ अमेरिकी डलर जरीवाना गरिनेछ ।
गृह मन्त्रालयले सबै नागरिकहरुलाई र बासिन्दाहरुलाई हजयात्राको क्रममा सरकारले तोकेको नियम पालना गर्न आग्रह गरेको छ ।

हजयात्राको क्रममा नियम पालना गराउन सुरक्षाकर्मीहरु सडक तथा बाटोमा परिचालन गरिनेछ ।
साउदी अरेबियाको प्रशासनले कोरोना भाइरसको महामारीको कारण हजयात्रामा आउने मानिसको संख्या १० हजारसम्ममा सीमित राख्ने निर्णय गरेको छ ।
यसअघि एक निर्णय गर्दै साउदी अरबले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा राख्न ‘हज’का लागि अन्तर्राष्ट्रिय श्रद्धालुको प्रवेशमा रोक लगाएको थियो ।
इस्लामिक धारणा अनुसार हज इस्लामको पाँच स्तम्भमध्येको एक हो र प्रत्येक शारीरिकरुपमा सक्षम मानिसले आफ्नो जीवनमा एकपटक हजयात्रा गर्नुपर्छ । इस्लाममा जीवनमा एकपटक हज यात्रा गर्नु सबैभन्दा ठूलो र महत्वपूर्ण अध्यात्म यात्राको रुपमा चित्रित गरिएको छ । गत वर्ष २५ लाख मानिसले मक्का र मदिनाको यात्रा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया