पोखरा । विश्वकर्मा कल्याण समाज कास्कीले चारकोठे पक्की भवन निर्माण गरेको छ । पोखरा महानगरपालिका–१८ धारापानीमार्गमा खरिद गरेको चार आना जग्गामा ६७ लाख रुपैयाँ लागतमा समाजले शौचालयसहित चारकोठे पक्की भवन निर्माण गरेको हो ।
कास्की निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं युवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्मामार्फत स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १० लाख रुपैयाँ एवं प्रदेशसभा सदस्य रामजी बराल (जीवन) मार्फत प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १६ लाख रुपैयाँ र बाँकी आन्तरिक स्रोत जुटाएर भवन निर्माण गरिएको समाजका महासचिव दीपक घिमिरेले जानकारी दिए ।
जिल्लाभरि छरिएर रहेका विश्वकर्मा समुदायका सदस्यलाई सङ्गठित गर्दै संवैधानिक हकअधिकारसहित विविध गतिविधि सञ्चालनमा भवन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उनले भने, “भवन निर्माणमा समाजका सदस्यहरुले देखाएको उत्साहले थप प्रेरणा मिलेको छ ।”
कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि गरिएको बन्दाबन्दीको समयमा शुरु गरिएको सो भवन निर्माणकार्य अहिले अन्तिम चरणमा पुगेको समाजका सहकोषाध्यक्ष रुपलाल सुनारले जानकारी दिए । आगामी साउन महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको बताउँदै उनले भने, “भवन निर्माणमा ४१ लाख रुपैयाँ बराबरको जनसहभागिता परिचालन गरिएको हो ।”
जिल्ला समन्वय समितिका कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीसहितको टोलीले निर्माणाधीन भवनको अनुगमन गरेको थियो । समाजको स्थायित्वका लागि १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ भने त्यसको ब्याजबाट विविध सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सो समाजमा हाल एक हजार ५० जना आजीवन र साधारण सदस्य आवद्ध रहेका छन् ।रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया