काठमाडौं । आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइदैछ ।
ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
कार्यक्रममा उपस्थित भएका राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतिको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझैपनि बन्न नसकेको बताए । उनले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाई भइरहेको बताए । उनले कृषि अनुसन्धान र किसानको बिचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताए ।
उनले जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताए । उनले कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि कृषि उत्पादनमा लाग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खेतमै पुगेर कार्यक्रम गरिनु उचित भएको बताए ।
नेपाल कृषि अनुसन्धान परिषद्का कायएकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताए । नेपालमा हर्दिनाथ हाइब्रिड एक र हर्दिनाथ हाइब्रिड तीन जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने बताए । उनले परम्परागत रुपमा धान दिवस मनाउँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने बताए ।
नेपाल कृषि अनुसन्धान परिषद, बाली तथा बागवानीका निर्देशक हरिकृष्ण उप्रेतीले यस वर्ष असार १५ सम्म २२ प्रतिशत जमिनमा धान रोपाई सम्पन्न भएको जानकारी दिए । उनले उच्च पहाडि क्षेत्रमा करिब ३५ प्रतिशत, पहाडि क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा धान लगाउन सुरु गरिएको बताए ।
निर्देशक उप्रेतीले सलह किराबाट धानको बिउ जोगाउन निरन्तर अनुगमन गर्ने, झुल तथा छाप्रोको प्रयोग गर्ने लगायतका काम गर्न किसानहरुलाई सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया