चीन-भारत सीमा विवाद : चिनियाँ सैनिकलाई मार्सल आर्ट प्रशिक्षण

काठमाडौं । चीनले आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने भएको छ।

आधिकारिक रुपमा कुनै प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम भएको बताइएको छ ।

सन् १९९६ मा गरिएको एक सम्झौताअनुरुप सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक वा विस्फोटक पदार्थ बोक्न नपाउने नियम रहेको छ ।

हालै मात्र अर्थात् १५ जूनमा भारत र चीनका सेनाबीच पूर्वी लद्दाखको गलवान घाटीमा भएको बन्दुकजस्ता हतियार प्रयोग नगरिएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिको मृत्यु र ७६ जना घाइते भएका थिए। हालसम्म चीनले आफ्नो पक्षको क्षतिको विवरण भने सार्वजनिक गरेको छैन।
हङ्‌कङका सञ्चारमाध्यमहरूका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले जुन २० तारिखमा दिएको बताइएको छ ।

सरकारी सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने छन् र चिनियाँ सेनालाई मार्सल आर्ट प्रशिक्षण दिने बताइएको छ ।

तर उनीहरूले सीमा क्षेत्रमा खटिएका सैनिकलाई प्रशिक्षण दिने वा नदिने विषयमा भने सीसीटीभीले जानकारी दिएको छैन।

आणविक हतियार भएका चीन र भारतले लद्दाखको गलवान घाटीमा जुन १५ मा भएको घटनामा एक अर्काबीच दोषारोपण गरिरहेका छन्।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?