कोरोना भाइरस : ‘अमेरिकामा दुई करोड मानिस संक्रमित भएका हुन सक्छन्’

काठमाडौं । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी) का स्वास्थ्य अधिकारीहरूले अमेरिकामा अहिलेसम्म थोरैमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण भईसकेको हुनसक्ने अनुमान लगाएका छन्।

सेन्टर्स फर डिजिजेज् कन्ट्रोलले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा १० गुणा बढी हुनसक्ने जनाएको हो।

सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या तीव्र गतिले बढेसँगै टेक्सास राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गर्दै गर्दा यस्तो कुरा बाहिर आएको हो।

अमेरिकामा यो समाचार तयार पार्दासम्म १ लाख २६ हजार ७८० जनाको कोरोना भाइरसको कारण मृत्यु भईसकेको छ भने २५ लाख ४ हजार ५८८ जनालाई संक्रमण भएको छ ।

केही दिन अगाडिबाट दक्षिणी र पश्चिमी राज्यहरूले सर्वाधिक कोरोना सङ्क्रमण भएको विवरण सार्वजनिक गरिरहेका छन्।

यसैबीच वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्म अमेरिकामा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ।

तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १ लाख ४६ हजार मात्र हुने उसको भनाई रहेको छ ।

सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले भने, ‘अहिलेका लागि हाम्रो सबैभन्दा उत्कृष्ट अनुमान भनेको जति सङ्क्रमणहरू थाहा भएका छन् वास्तवमा ती हरेक सङ्क्रमणमा अन्य १० सङ्क्रमण छन् ।’

उनले त्यसको कारण लक्षण देखिएकाहरूमा मात्र परीक्षण हुनु र अन्यमा नहुनु भएको बताएका छन् ।

‘हामीले अपनाएको विधिका आधारमा मार्च, एप्रिल र मे महिनामा हामीले सम्भवतः महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला’ उनले भने ।

उनले पाँचदेखि आठ प्रतिशत जनसङ्ख्या भाइरसको सम्पर्कमा आइसकेको भन्दै अमेरिकीहरूलाई सामाजिक दूरी कामय गर्न, मास्क लगाउन र हात धुन आग्रह समेत गरेका छन् ।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?