खेतीपातीको सिजनमै मलको हाहाकार

काठमाडौं । मानो रोपेर मुरी फलाउने सुरसारमा रहेका देशभरका किसानलाई फेरि मलको चिन्ताले सताएको छ । मनसुनको आगमनसँगै उत्साहित बनेका कृषक मलको अभावमा छटपटिन बाध्य भएका छन् । देशभरका कृषकको एउटै प्रश्न छ–सरकार मल नपाए कसरी खेती गर्नु ?

बर्सेनि धानबाली लगाउने क्रममा रासायनिक मलको चरम अभाव खेप्तै आएका किसान यस वर्ष पनि सोही समस्या खेप्न बाध्य भएका हुन् । हाल देशभरमा रासायनिक मलको हाहाकार भएको छ । मानो रोपेर मुरी फलाउन किसानलाई रासायनिक मलको आवश्यता पर्छ तर सोचेअनुसार मल नपाउँदा उनीहरूको मुरी फलाउने सपनामा तुषारापात हुने भएपछि कृषकहरू चिन्तित देखिएका छन् ।

मनसुनको सुरुवातीसँगै किसानहरू मलबिना नै धान रोपाइँ गर्न बाध्य भएका छन् । तराईदेखि पहाडका किसानले मल नपाएको गुनासो गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खेबालीका लागि मात्र युरिया र डीएपी करिब ७० हजार मेट्रिक टन आवश्यक पर्छ । हाल कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीसँग युरिया र डस्एपी मल गरी १८ हजार मेट्रिक टन मात्र मौज्दात छ । कृषि सामग्री कम्पनीसँग युरिया ३ हजार मेट्रिक टन र डीएपी ५ हजार मेट्रिक टन रहेको छ भने साल्ट ट्रेडिङसँग ३ हजार मेट्रिक टन युरिया र ७ हजार मेट्रिक टन डीएपी छ । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?