नेपाल र पाकिस्तानसमेतलाई मुछेर चीनले दियो भारतलाई चेतावनी

काठमाडौं । यतिबेला भारत र चीनबीचको विवाद तनावको स्थितिमा पुगेका छ । भारतीय र चिनियाँ सैनिकबीच पूर्वी लद्दाखको गलावान घाँटीमा गत मंगलवार भएको हिंसात्मक झडपपछि भारत र चीनबीचको विवाद तनावको स्थितिमा पुगेको छ ।

लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो। अन्ततः मंगलबार यो विवाद सिंस्रक झडपमा परिणत हुन पुगेको हो । भारत–चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक ठूलो मानवीय क्षति पुगेको हो ।

भारतले २० जना आफ्ना सैनिकको मृत्यु भएको बताएपछि चीनले यसबारे मुख खोलिसकेको छैन ।

यद्यपि भारतले चीनतर्फ ठूलो हताहती भएको दावी गरेको छ । यो घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बोलिसकेका छन् । उनले आफ्ना सेनाको बलिदानी खेर जान नदिने अभिव्यक्ति दिएका छन् ।

चीनले भने अमेरिकाको आडमा आफूमाथि कुनै कदम नउठाउन भारतलाई चेतावनी दिँदै आफूहरुले शान्ति चाहेको प्रतिक्रिया दिएको छ ।

चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने भारतका लागि जवाफी कारबाही गर्ने चेतावनी दिएको पनि समाचारहरुमा जनाइएको छ ।

यहीबीचमा चीनको सरकारी समाचार संस्था ग्लोबल टाइम्सले सम्पादकीय लेखेर जवाफी कारबाहीमा कुनै पनि समय नलाग्ने चेतावनी दिएको छ ।

यो सरकारी मुखपत्र सरहको भएका कारण यसमा प्रकाशित समाचारलाई सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ । यस सञ्चारमाध्यमले सांघाई एकेडमी अफ सोसल सायन्सेजमा इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सका रिसर्च फेलो हु झियोङलाई उद्धृत गर्दै लेखेको छ कि, भारत चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको छ । चीनले युद्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएको छ ।

ग्लोबल टाईम्सले दक्षिण एसियामा भारतले विभिन्न प्रकारका विवाद निम्त्याएको दावी समेत गरेको छ । ‘कोरोना महामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो । नेपालसँग चीनको घनिष्ठ सम्बन्ध छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनामा साझेदार हुन् । यदि भारतले सीमा विवादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सैन्य दबाबको सामना गर्नुपर्ने हुनसक्छ । यहाँसम्मकी तीनवटै देशले सैन्य दबाब दिएमा के हुन्छ रु भारतका लागि त्यो समय विनाशकारी हार हुनसक्छ ।’ सम्पादकीयमा लेखिएको छ ।

लद्दाख झडपपछि भारत र चीनले विदेशमन्त्रीस्तरीय, सैन्य कमाण्डर स्तरमा र दूतावासमार्फत पनि वार्ता गरिरहेका छन् । हिजो बुधबार मात्रै दुई देशका विदेशमन्त्रीबीचमा वार्ता भएको थियो । तर एकअर्काविरुद्ध दुवै देशले सीमा क्षेत्रमा सैन्य क्षमता बढाएपछि थप तनावको अवस्था सिर्जना भएको छ । मंगलबारको सो झडपपछि विश्व समुदायको ध्यान तानिएको छ । यसैबीचमा युएनले दुई देशलाई संयमता अपनाउन भनिरहेको छ ।

चीन र भारतबीचको विवादमा दुवै देशका सञ्चारमाध्यमले नेपाललाई पनि तानिरहेका छन् ।

केही समय अगाडी नेपालले आफ्नो अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेसँगै भारतमा खैलाबैला मच्चिएको छ । तर यहि कारणले चीनले आफूहरुको विवादमा नेपाललाई उल्लेख गर्नु हुँदैन ।

जसले जस्तो टिप्प्णी गरेपनि नेपाल अहिलेसम्म भारत–चीनबीचको विवादबारे मौन रहेको छ । बरु नेपाल भारतसँगको लिम्पियाधुराको सीमा विवादबारे वार्ता गर्ने पक्षमा छ । जुन कुरा आज मात्रै पनि प्रधानमन्त्री केपी ओलीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?