चीनले बनायो कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण सफल

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अहिलेसम्म विश्वका २१३ वटा देशमा फैलिइसकेको छ ।

वैज्ञानिकहरुले कोरोना भाइरससँग लड्नका लागि अहोरात्र खटिएर भ्याक्सीन बनाउन जुटिरहेका छन् ।

यसैबीच चीनले कोरोनाभाइरसविरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ भ्याक्सीन सफल भएको दाबी गरेको छ ।

लेनसेट जर्नलमा शुक्रवार प्रकाशित रिपोर्टका अनुसार २८ दिनमा यो खोपले मानिसमा कोरोना प्रतिरोधी क्षमता बढाएको दाबी गरिएको छ ।

मार्च १६ देखि २७ को अन्तरालमा एक सय ८ जना संक्रमितमा गरिएको परीक्षण सफल भएको बताइएको छ ।

रिपोर्टमा भनिएको छ, ‘यो खोपले सुरक्षित रूपमा कोरोना भाइरस प्रतिरोधी क्षमता बढाउँछ ।’

शोधकर्ताहरुले यो भ्याक्सीनले कोरोनाविरुद्धको लडाईमा आशा जगाएको बताएका छन् ।

वैज्ञानिकहरुले भने, ‘यो १०८ मानिसमा गरिएको परीक्षणमा यो भ्याक्सीन सफल भएको छ, अब केहि अनुसन्धान पछि छिटै यसलाई आम नागरिकमा प्रयोग गरिने छ । लेनसेटले आफ्नो रिपोर्टमा लेखेको छ, कोरोना महामारीबाट प्रताडित मानव जातीका लागि ऐतिहासिक कोसेढुङ्गा साबित भएको छ । अब यसको अन्तिम मुल्याकङ्कन ६ महिना भित्र हुनेछ।’

कोरोना भाइरस (कोभिड-१९) विरुद्ध यसले पैदा गर्ने प्रतिरोधी एन्टीबडीले कतिसम्म प्रतिरोध गर्न सक्छ भनेर अन्तिम नतिजाका लागि अझै केही परीक्षण आवश्यक रहेको लेनसेटको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हुन त यसको विकासले कोरोनाबाट शत प्रतिशत सुरक्षित बन्न सक्ने वा नसक्ने भन्ने पनि अनुसन्धान भईरहेको छ ।

यो खोपले विकास गरेको प्रतिरोधी क्षमताको परीक्षण मात्र अब बाँकी रहेकोले पछिल्लो उपलब्धिबाट धेरै आशा गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

सिनह्वाका अनुसार यो खोप बेइजिंग इन्स्टिच्युट अफ बायोटेक्नोलोजीकी प्रोफेसर वेई चियनको नेतृत्वमा तयार भएको हो । यी खोपहरूबाट परीक्षण गरिएका सबैमा सकारात्मक नतिजा आएको छ ।

शोधकर्ताहरुका अनुसार कोरोना भाइरसले शरीरको कमजोर कोशिका, प्रोटिनहरू र फोक्सोमा हमला गर्ने भएकाले त्यसलाई रोक्न सक्षम र सुरक्षित औषधि बनाउन जोड दिइएको छ ।

कोरोनाको प्रकोप फैलिदै गएपछि चीन त्यसविरुद्धको भ्याक्सीन बनाउन लागि परेको थियो ।

यो भ्याक्सीनको परीक्षण शुरुवातमा जनावरमा गरिएको थियो भने त्यसपछि केहि युवाहरुमा गरिएको थियो ।

युवाहरुमा पनि परीक्षण सफल भएपछि अहिले वृद्धवृद्धाहरुमा यसको परीक्षण गरिएको थियो । जसमा पनि भ्याक्सीन सफल भएको छ ।

करिब एक महिना अघि १०८ जना वृद्धवृद्धाहरुमा गरिएको यो खोपको नतिजा राम्रो देखिएसँगै विश्वका सबैमा आशा जागेको छ ।

वृद्धवृद्धाहरुमा गरिएको खोपको परीक्षणले मानिसहरूमा प्रतिरोधी क्षमताको विकास भएको पाइएको वैज्ञानिकहरुको दाबी छ ।

तर यो भ्याक्सीन सहजरुपमा उपलब्ध हुन भने अझै केहि समय लाग्ने बताइएको छ ।

हाल अमेरिका, बेलायत लगायत ३० भन्दा बढी देशले कोरोना भाइरसविरुद्धको औषधि परीक्षण गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?