कोरोनाका कारण जादुगरको निधन, जंगली जनावरलाई बेपत्ता पार्नसक्ने कलाले चर्चित थिए

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ का कारण हालसम्म २ लाख ७६ हजार २५३ जनाको मृत्यु भएको छ भने ४० लाख १४ हजार ५९२ जनालाई संक्रमण भएको छ भने हालसम्म १३ लाख ८७ हजार २७५ जना उपचारपछि निको भएर घर फर्केका छन् । यो समाचार तयार पार्दासम्म ४८ हजार ६९९ जना सिकीस्त छन् ।

यस महामारीबाट धेरै मुर्धन्य व्यक्तिहरुले ज्यान गुमाइसकेका छन् । यसैबीच जादुगर रोय लुडविग हर्नको शुक्रबार कोरोना भाइरसका कारण अमेरिकाको लस भेगासमा निधन भएको छ । ७५ वर्षीय हर्नले आफ्ना साथी सिगफ्राइड वासवाचरसँग मिलेर जादु देखाउने गरेका थिए । उनीहरुको समूह ‘सिगफ्राइड एन्ड हर्न’ जंगली जनावरलाई बेपत्ता पार्नसक्ने कलाका कारण चर्चित थियो ।
गत अप्रिलमा हर्नमा कोरोना देखिएको थियो र उनी अस्पतालमा भर्ना भएका थिए । ‘विश्वले एक महान् जादुगर र मैले असल साथी गुमाएको छु , सिगफ्राइड फिसवाचरले विज्ञप्ती निकाल्दै भनेका छन् ।

१९४४ मा जर्मनीमा हर्नको जन्म भएको थियो । क्रुज सपमा काम गर्दै गर्दा उनले सिगफ्राइडलाई भेटे । यसपछि नै उनीहरुको ५० वर्ष लामो जादुगरी सहकार्य सुरु भयो ।

लस भेगासमा यी जादुगरहरु जंगली जनावरसँगको सहयात्रामा जादु गरेर चर्चामा आएका थिए । उनीहरुले बाघ, सेतो सिंह, चितुवा र हात्तिसम्मलाई बेपत्ता पारेर गायब गरेर आफ्नो कला देखाएका थिए ।

हर्नको सबैभन्दा यादगार प्रस्तुती ३ अक्टुबर २००३ मा थियो । जब एउटा सेतो बाघले उनलाई मञ्चबाटै घिसारेर लगेको थियो । त्यसयता, मान्टेकोर नामको यस बाघलाई उनले आफ्नो ‘जीवनदाता’ भने । अनि, घटनाको ५ वर्षपछि सिगफ्राइड र रोयले लास भेगासमा सेक्रेट गार्डेन एन्ड डल्फिन ह्याबिटेट नामक आश्रयस्थल खोले, जहाँ उनीहरुले आफ्नो टिमका सेतो बाघ र अन्य जंगली जनावरलाई राखेका थिए ।

‘अफ्ठेरा कुरालाई चुनौती दिनु नै रोयको जीवन थियो । उनी आफ्नो कला र जनावर संरक्षणमा देखाएको प्रतिवद्धताका कारण विश्व प्रसिद्ध भए,’ सिगफ्राइडले विज्ञप्तीमा भनेका छन् । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?