‘युट्युब’ हेर्दै खानाका परिकार बनाउन सिक्दै

कपिलवस्तु । कपिलवस्तु, वाणगङ्गा नगरपालिका–४ की अस्मिता कुँवरले लकडाउन सदुपयोग गर्दै ढाकाका कपडा बुनिरहेकी छन् । कुँवरलाई कपडा सिलाइको व्यस्तताले गर्दा समय बितेको पत्तो छैन ।

वुद्धभूमि नगरपालिकाका–४ का विनोद केसीलाई भने यस समयमा खूब अध्ययन गर्ने मौका जुरेको छ । एक महिनाका अवधिमा उनले आधा दर्जनभन्दा बढी पुस्तक पढिससकेका छन् । केसीले भने, “पहिला बैंकको कामले एकछिन फुर्सद पाउँदिनथे तर आजभोलि अध्ययन गर्दै मीठो खाना बनाउन पनि सिक्दै छु ।”

शिवराज नगरपालिका –१ की सुनिता कहाँर भने यति बेला युट्युबका माध्यमबाट झुमरा, ढकिया, फूलदानीलगायत घर सजावटका विभिन्न सामग्री बनाउँदै छिन् ।

बहिनीको कामबाट प्रेरणा पाएकी अनिताले पनि यस समयलाई भने खेर जान दिएकी छैनन् । आफ्नो इच्छानुसार काम गर्न लकडाउनले ठूलो अवसर प्रदान गरेको बताउँदै उनले आफूले विभिन्न खालका चित्र तथा मूर्ति बनाउने गरेको जानकारी दिइन्। उनको जस्तै अनुभव अनुपा पासीको पनि छ । लामो समय लकडाउन हुँदा दिक्क मान्ने पासीलाई घरकै कामले भ्याइनभ्याई छ ।

वाणगङ्गा –२ की मीना सुनार जागीरका कारण घरभन्दा बाहिर बस्दै आउएकी थिइन् । पटकपटक परिवारमा समय नदिएको गुनासो सुन्दै आएकी सुनारले यतिबेला घर परिवारमा पर्याप्त समय दिएकी छन् । यसरी परिवारसँग समय व्यतीत गर्दा छुट्टै किसिमको आनन्द मिल्ने गरेको उनले सुनाइन्।

विद्यालय बन्द हुँदा मोबाइलमा मात्रै रमाउने वाणगङ्गा–४ की दिया श्रेष्ठ र उनकै छिमेकी स्नेहा क्षेत्री पनि नयाँनयाँ परिकार बनाउन सिकिरहेकी छन् ।

घरमै सेलरोटी, पानीपुरीलगायत परिकार बनाउने गरेकी छन् । सधैँं एकैप्रकारको खाना खाँदा वाक्क लाग्ने भएकाले युट्युब हेरेर वा साथीहरूबाट सिकेर नयाँ खाजाका परिकार बनाउन सिक्ने अवसरका रुपमा यो समयलाई उपयोग गर्दै आएको उनको भनाइ छ ।

वाणगङ्गा–३ चम्कीपुरकी ५५ वर्षीया सुनरमतिया थारुलाई पनि खाली समय बिताउन समस्या भएपछि छिमेकीसँग घर सजावटका सामान बनाउन सिकिरहहेका छन्। केही गर्ने इच्छा भए उमेरले छेक्दैन भन्ने उदाहरण उनीबाट पाउन सकिन्छ ।

वरपर छिमेकीले हातेपङ्खा, ढकिया बनाएको देखेपछि उहाँमा पनि यो जाँगर चलेको छ । थारु भन्छन्, “दिनमा चारपाँच वटा पङ्खा, ढकियाहरु बनाउँछु ।” सजावटका सामान बनाउँदा लकडाउनको समय पनि सजिलोसँग बितेको उनको अनुभव छ ।

बन्दाबन्दीका समयमा अभिभावकहरु काममा नजाँदा बालबालिकाले पनि जान्नेबुझ्ने अवसर पाएका छन् । यही अवसरको सदुपयोय गर्दै वाणगङ्गा–५ की पाँच वर्षीया कृतिका न्यौपानेले विद्यालय जान नपाए पनि आमासँग घरमा बसेर पढेकी छन् ।

यस समय उनी जस्तै अन्य बालबालिकाले घरमै व्यवहारोपयोगी ज्ञान र सीप सिक्न पाएका छन् ।
एसइई परीक्षाको तयारीमा रहनुभएका एलिना पाण्डेले पनि अध्ययनको तयारी गर्दै घर सजावटको काम सिकिरहहेकी छन् । कतै जान नपरेपछि अध्ययन गर्न पर्याप्त समय भएकाले दिउँसो चित्र बनाउने र घर सजावटको काम सिक्ने गरेको पाण्डे बताउँछिन्।

समयमै परीक्षा दिन नपाउँदा उनलाई लकडाउको समयभर पट्यारलाग्दो भएको छ । उनले भनिन्, “राति सपनामा पनि परीक्षा दिएको देख्छु पहिले नै दिन पाएको भए आनन्द हुने थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्ने हो भने झनै उपयोगी बनाउन सकिने मनोपरामर्शकर्ता बताउँछन् ।

“कोरोनाले बालमनोविज्ञानमा एकप्रकारको छाप त छाडेको छ तर यसले बालबालिका तथा किशोरकिशोरीलाई सीप सिकेर जीवन उपयोगी नयाँ अनुभव हासिल गर्ने अवसरसमेत दिएको छ”, मनोपरामर्शकर्ता प्रकाश घिमिरे भन्छन् । यस समयलाई कहरका रुपमा नलिई नयाँ काम सिक्ने रहरका रुपमा ग्रहण गर्नुपर्ने उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?