न्यूयोर्कमा दुईजना नेपाली घरभित्रै मृत अवस्थामा फेला, कोरोनाको आशंका

काठमाडौं । न्यूयोर्कमा दुईजना नेपाली घरभित्रै मृत अवस्थामा भेटिएका छन् । नेपालमा मुस्ताङ घरभएका अन्दाजी ४० वर्षीय दुईजना नेपाली घरभित्रै मृत भेटिएको नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिएका हुन्।

न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै आएका सोनाम लामा र क्विन्स सन्नीसाइड बस्ने थोक्मे बिष्टको मृत्यु भएको जानकारी दिइएको छ । केही दिनदेखि बिरामी रहेका करिब ४० वर्षीय सोनामको उनी बस्ने कोठाभित्रै मृत्यु भएको जानकारी दिइएको छ ।

लामो समयफोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृत अवस्थामा थिए । उनको मृत्यु कोरोना संक्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पोष्टमार्टम रिर्पोट भने आएको छैन् ।

१८ वर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा छ । उनको शव केही दिनअघि प्रहरीले लगेर गएको र उनका आफन्त अमेरिकामा नभएकाले अन्य जानकारी भने प्राप्त नभएको जनाइएको छ ।

यसैगरी करिब १२ वर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनी बस्ने अपार्टमेन्टमा नै मृत्यु भएको जनाइएको छ ।टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको र केही दिन घरमै आराम गर्न भनिएको थियो ।

थोक्मेका एक श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन् । स्थानीय समाजसेवी राजकुमार बिष्टले समाजिक सञ्जालमा लेखेअनुसार थोक्मेलाई पहिलेदेखि नै मुटुरोगको समस्या थियो।मृतक दुवैजना नेपाली नागरिक भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?