नेयमारको गोलसँगै पीएसजी क्वाटरफाइनलमा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधवार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित पीएसजीले अन्तिम आठमा स्थान बनाएको हो ।

कोरोना भाईरसको कारण दर्शकबिना भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र जुवान बर्नाटले समान एक-एक गोल गरेका थिए ।

१० खेलाडीमा सिमित बनेको डर्टमण्डविरुद्ध खेलको २८ औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ४५ औं मिनेटमा बर्नाटले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

त्यस्तै खेलको ८९ औं मिनेटमा इम्री क्यानले रातो कार्ड पाउँदा डर्टमण्ड अन्तिम केहि समय १० खेलाडीमा सिमित भएको थियो । उनले नेयमारलाई खराब ट्याकल गरेका थिए ।

यस अघि डर्टमण्डले घरेलु मैदानमा भएको पहिलो लेगमा २-१ को जित निकालेको थियो । तर, दोस्रो लेगमा डर्टमण्डले घरेलु मैदानको प्रदर्शन दोहोर्याउन नसक्दा अन्तिम १६ बाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?